उपत्यका प्रहरी कार्यालयका डिआइजी अधिकारी र ट्राफिक प्रहरी प्रमुख अधिकारी पुरस्कृत 

0
Shares

काठमाडौँ। 

 उपत्यकाको समग्र शान्ति सुरक्षा प्रभावकारी बनाउन उल्लेखनीय योगदान पुर्‍याएको भन्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रशाद अधिकारी पुरस्कृत हुनुभएको छ ।

प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै उहाँलाई विशेष रुपमा सम्मान तथा पुरस्कृत गरेको काठमाडौँ  उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 

विशेषगरी चोरी, डकैती, लागूऔषध कारोबार, सार्वजनिक शान्ति भंग गर्ने गतिविधि तथा विभिन्न आपराधिक घटनामा नियन्त्रण गर्न उहाँले सक्रियता बढाउनु भएको बताइएको छ ।

यसैगरी उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी पनि पुरस्कृत हुनुभएको छ । ट्राफिक प्रहरी प्रमुख अधिकारीले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न उल्लेखनीय भूमिका खेलेको जनाएको छ । 

उहाँको नेतृत्वमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीमाथि कडाइ गर्नुका साथै सडक अनुशासन कायम गराउने अभियान प्रभावकारी बनेको थियो ।

विशेषगरी ट्राफिक जाम न्यूनीकरण, सवारी दुर्घटना नियन्त्रण, लेन अनुशासन लागू तथा आधुनिक प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन उहाँले महत्वपूर्ण पहल गर्नुभएको जनाइएको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको सक्रियता बढेसँगै सवारी चालकमा ट्राफिक नियमप्रति सचेतना समेत वृद्धि भएको बताइएको छ । 

सडकमा हुने जाम, जथाभावी पार्किङ लगायतका समग्र अव्यवस्था न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।

प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले समयसमयमा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको जनाएको छ । यसबाट प्रहरी संगठनभित्र थप उत्साह र जिम्मेवारीबोध बढ्ने विश्वास गरिएको छ ।