विराटनगरमा फोहोर सफा गर्ने क्रममा बम विस्फोट, दुई जना घाइते


विराटनगर।

विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु पड्किँदा दुई जना घाइते भएका छन्। आज बिहान ११ः३० बजेको समयमा जमिनमा गाडिएको अवस्थामा रहेको पुरानो सकेटजस्तो देखिने शंकास्पद वस्तु पड्किँदा स्थानीय दुई जना घाइते
भएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा विराटनगर–१५ बस्ने ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली रहेको मोरङका प्रहरी नायब
उपरीक्षक डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । डिएसपी मिश्रका अनुसार, पड्किएको वस्तुको छर्रा र चोटका कारण नजवा खातुनको दुवै हात र
छातीमा सामान्य चोट लागेको छ भने हैदर अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ।

घटनालगत्तै सीमा प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय जितु मेडिकल पठाएको
थियो। घाइते दुवै जनाको अवस्था सामान्य रहेको छ।

जमिनमा पहिलेदेखि नै गाडिएर रहेको पुरानो सकेट बम जस्तो वस्तु फोहोर सफा गर्ने क्रममा चलाउँदा पड्किन पुगेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको मोरङका प्रहरी नायब उपरीक्षक डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।