चार हिमतालको पानी घटाइँदै, बाढी नियन्त्रणमा साढे सात अर्ब खर्च गरिने


काठमाडौं ।

सरकारले हिमताल विस्फोटबाट हुने सम्भावित विपद् न्यूनीकरण गर्न चार जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने र चार प्रमुख नदीमा बाढी पूर्वसूचना प्रणाली विस्तार गर्ने भएको छ।

यसका लागि सरकारले करिब ४९.९ मिलियन अमेरिकी डलर अर्थात् साढे सात अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ।

योजनाअनुसार मनाङको ठुलागी, संखुवासभाको तल्लो बरुण तथा सोलुखुम्बुको लुम्दिङ च्छो र होङ्गु–२ हिमतालको पानीको सतह घटाइनेछ। त्यस्तै, तल्लो बरुण, अरुण, दूधकोशी र मर्स्याङ्दी नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली स्थापना गरिनेछ।

सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने ‘सञ्जीवनी ग्लोफ’ परियोजनाका लागि हरित जलवायु कोषले ३६ मिलियन डलर र यूएनडीपीले दुई मिलियन डलर सहयोग गर्नेछन्। बाँकी रकम नेपाल सरकारले व्यहोर्नेछ।

परियोजनाबाट हिमताल विस्फोट तथा आकस्मिक बाढीको जोखिम न्यूनीकरण गर्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै सूचना पुर्‍याउने लक्ष्य राखिएको छ।

हाल हिमतालको पानी घटाउने काम अध्ययन तथा डिजाइनको चरणमा रहेको र सन् २०२७ सम्म अध्ययन पूरा गरी त्यसपछि स्थलगत काम सुरु गर्ने तयारी रहेको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ।