काठमाडौं ।
रुसी ड्रोन आक्रमणबाट बच्न युक्रेनी सैनिकहरूले पुराना ग्यास पाइपलाइनलाई भूमिगत आश्रय र आपूर्ति मार्गका रूपमा प्रयोग गर्न थालेका छन्।
युक्रेनको कुपियान्स्क क्षेत्रमा रहेका करिब १२९ किलोमिटर लामो पुराना ग्यास पाइपलाइनमार्फत सैनिकहरूलाई खाना, गोलाबारुद र अन्य अत्यावश्यक सामग्री पुर्याउने गरिएको छ। करिब चार फिट चौडा यी पाइपलाइनभित्र सैनिकहरू हप्तौँदेखि दुई महिनासम्म बस्न बाध्य छन्।
कुनै समय रुसबाट युरोपसम्म ग्यास पुर्याउन प्रयोग हुने यी पाइपलाइन अहिले युक्रेनी सेनाका लागि सुरक्षित आवागमन र आपूर्तिको माध्यम बनेका छन्। सैनिकहरूले साँघुरो पाइपभित्र निहुरिएर वा घिस्रिँदै यात्रा गर्नुपर्ने हुन्छ।
पाइपलाइनभित्र हावा प्रवाह गराउन भेन्टिलेसन प्रणाली जडान गरिएको छ। साना विद्युतीय गाडीमार्फत दिउँसो खाना र गोलाबारुद पठाइन्छ भने राति सुरुङ निर्माणबाट निस्किएको माटो बाहिर ल्याउने गरिन्छ।
पाइपलाइनभित्र सूर्यको प्रकाश र ताजा हावाको अभाव छ। ग्यासका अवशेष, धुलो र अक्सिजनको कमीले सैनिकहरूको स्वास्थ्यमा समेत जोखिम बढाएको छ। घाइते सैनिक तथा युद्धमा मारिएकाहरूको शवसमेत यही मार्गबाट बाहिर निकाल्ने गरिएको छ।
खुला मैदानमा ड्रोन र थर्मल इमेजिङ प्रविधिको निगरानीका कारण सैनिकहरूको आवतजावत जोखिमपूर्ण बनेपछि युक्रेनले सैन्य केन्द्र, निगरानी चौकी र आपूर्ति केन्द्रहरूलाई जोड्ने भूमिगत सुरुङ सञ्जाल विस्तार गर्ने सम्भावनासमेत खोजिरहेको छ।











प्रतिक्रिया