फुर्केखोलामा पन्टुन पुल,संघले बनाएन ! १३ स्थानीय तह जुटे विकल्पमा

0
Shares

धादिङ ।

भोटेकोशीमा आएको बाढीले त्रिशूली नदीमाथिको फुर्केखोला पुल बगाएको दुई महिनापछि धादिङका स्थानीय सरकारहरूले वैकल्पिक पुल निर्माणको पहल थालेका छन् । संघीय सरकारले तत्काल पुल निर्माण वा वैकल्पिक व्यवस्था गर्न चासो नदेखाएपछि धादिङका १३ वटै स्थानीय तहको संयुक्त पहलमा फुर्केखोलामा पानीमाथि तैरिने पन्टुन पुल (पोन्टुन ब्रिज) राख्ने तयारी गरिएको हो ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले बेनीघाट रोराङ गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ जोड्ने फुर्केखोलास्थित त्रिशूली नदीमाथिको पक्की पुल बगाएको थियो । उक्त पुल धादिङबेँसीसहित जिल्लाका आठ स्थानीय तहलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य सडक सम्पर्क थियो । पुल बगाएपछि हजारौँ नागरिकको आवतजावत प्रभावित हुँदै आएको छ ।

पुल बगाएको लामो समय बितिसक्दा पनि संघीय सरकारको मातहतमा रहेको उक्त पुलको पुनर्निर्माण वा वैकल्पिक व्यवस्थाका लागि ठोस काम अघि बढ्न नसकेपछि स्थानीय सरकारहरू आफैँले विकल्प खोजेका हुन् । बिरामी बोकेका एम्बुलेन्स, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने सवारीसाधन र सर्वसाधारणले लामो तथा जोखिमपूर्ण वैकल्पिक सडक प्रयोग गर्नुपर्ने बाध्यता छ ।

नागरिकको समस्यालाई ध्यानमा राखेर धादिङका दुई नगरपालिका र ११ गाउँपालिकाको संयुक्त पहलमा पन्टुन पुल राख्न लागिएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो । उहाँका अनुसार १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको छलफल र सहमतिपछि वैकल्पिक पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएको हो ।

पन्टुन पुल राख्न स्थानीय सरकारका तर्फबाट अध्यक्ष दनैले सिँचाइ विभागमा निवेदन दिनुभएको छ । विभागसँगको समन्वयमा प्राविधिक टोलीले फुर्केखोलामा स्थलगत निरीक्षण गरी पुल राख्न सकिने सम्भावनाबारे अध्ययनसमेत गरिसकेको छ । प्राविधिक टोलीले अध्ययनपछि पन्टुन पुल राख्न सकिने निष्कर्ष दिएको अध्यक्ष दनैले बताउनुभयो ।

सिँचाइ विभागबाट स्वीकृति प्राप्त भएपछि बर्दियाको राजापुरमा रहेको पन्टुन पुलका सामग्री फुर्केखोलामा ल्याइनेछ । सामग्री आइपुगेपछि पाँचदेखि सात दिनभित्र पुल जडान गर्न सकिने प्राविधिक पक्षले जानकारी दिएको छ । फुर्केखोलामा करिब ८० मिटर लामो पुल राख्ने तयारी गरिएको छ ।

नेपाल सरकार सिँचाइ विभागअन्तर्गतको पन्टुन पुलसम्बन्धी प्राविधिक टोलीका इन्जिनियर शशी धर्वालीका अनुसार यसअघि पनि नेपालमा यस्तो पुल प्रयोगमा ल्याइएको थियो । २०५४ सालमा बर्दियाको कोठियाघाटस्थित गेरुवा खोलामा पन्टुन पुल निर्माण गरिएको थियो । तत्कालीन समयमा पानीको सतह घट्दा पुल राख्ने र पानीको सतह तथा बहाव बढ्दा निकालेर सुरक्षित स्थानमा राख्ने गरी २०७२ सालसम्म सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

त्रिशुली नदीको फुर्केखोलाको ८० मिटर लम्बाइ हुने अनुमान गरिएको पन्टुन पुल मंसिर महिनामा पुल हाल्ने र जेठ असारमा झिकेर सुरक्षित राख्नुपर्ने हुन्छ । पन्टुन ब्रिज पानीमा तैरिने गरी निर्माण गरिने अस्थायी पुल हो । यसमा नदीको सतहमा पिलर गाडेर पुल बनाउनु पर्दैन । पानीमा तैरिने फलामका ठूला संरचना वा डब्बाहरूलाई एकआपसमा जोडेर त्यसको माथि सवारीसाधन तथा मानिस आवतजावत गर्न मिल्ने सतह तयार गरिन्छ । नदीको पानीको सतह र बहावअनुसार पुलको संरचना माथि–तल हुने भएकाले यसलाई तैरिने पुल पनि भनिन्छ ।

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी भइरहँदा यसको विषयमा विभिन्न टिकाटिप्पणीसमेत हुन थालेका छन् । स्थानीय सरकारहरूले नागरिकको दैनिक आवागमन सहज बनाउन खोजेको वैकल्पिक प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने आवाज पनि उठेको छ । पक्की पुल निर्माण नहुँदासम्म नागरिकले भोगिरहेको सास्ती कम गर्न अस्थायी विकल्प खोज्नु आवश्यक रहेको स्थानीय तहका जनप्रतिनिधिहरूको भनाइ छ ।

बाढीले फुर्केखोलासहित त्रिशूली नदीमाथिका चारवटा पक्की पुलमा क्षति पुर्‍याएपछि धादिङका विभिन्न क्षेत्रको सडक सम्पर्क प्रभावित भएको छ । यसको असर दैनिक आवतजावत, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, कृषि उपजको बजारीकरण तथा स्थानीय आर्थिक गतिविधिमा समेत परेको छ ।

स्थायी पुल निर्माणका लागि संघीय सरकारको जिम्मेवारी र पहल आवश्यक भए पनि त्यसको प्रतीक्षामा नागरिकलाई अनिश्चितकालसम्म सास्ती दिन नहुने स्थानीयको बुझाइ छ । त्यसैले पन्टुन पुललाई तत्कालको वैकल्पिक व्यवस्थाका रूपमा हेरिएको छ ।

सिँचाइ विभागबाट स्वीकृति प्राप्त गरी प्राविधिक व्यवस्थापन पूरा भएमा केही दिनमै फुर्केखोलामा पन्टुन पुल जडान गर्ने स्थानीय सरकारहरूको लक्ष्य छ । पुल सञ्चालनमा आएपछि पृथ्वी राजमार्ग र धादिङका प्रभावित स्थानीय तहबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ । स्थायी पुल निर्माण नभएसम्मका लागि यो पुलले नागरिकको दैनिक जीवनमा ठूलो राहत पुर्‍याउने विश्वास गरिएको छ ।