सरकारविरुद्ध आन्दोलनको विकल्प छैन : ओली


काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बताएका छन्। उनले सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि मानसिक रूपमा तयार रहन निर्देशन दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आन्दोलनका लागि आन्तरिक तयारी गर्नुपर्ने बताए। तिहार र छठपछि पनि आन्दोलन हुन सक्ने संकेत गर्दै उनले नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरे।

‘हामी स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेका छौँ। आन्दोलनकारी ढङ्गले अघि बढ्नुको विकल्प छैन। अहिले होस् वा भोलि, तिहार–छठपछि होस्, हामी मानसिक रूपमा तयार भएर बस्नुपर्छ,’ उनले भने।

अध्यक्ष ओलीले सरकारमाथि गुण्डाराज चलाएको आरोपसमेत लगाए। पूर्वप्रधानन्यायाधीशदेखि आफूलाई समेत सरकारले पूर्वाग्रह राखेर पक्राउ गरेको उनको दाबी थियो। सादा पोसाकका प्रहरी प्रयोग गरी बलजफ्ती गर्ने र गिरफ्तारी गर्ने जस्ता गतिविधिबाट सरकारले देशमा आतङ्क फैलाएको आरोप पनि उनले लगाए।

ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए। आगामी निर्वाचनमा एमालेलाई पराजित गर्ने प्रयास भइरहेको दाबी गर्दै उनले त्यसलाई असफल बनाउनुपर्ने बताए।

‘आगामी चुनावमा हामीलाई नराम्रो ढङ्गले पराजित गर्न खोज्दै छन्, त्यसलाई दिवासपनामा परिणत गराउनुपर्छ। विगतमा पनि हामीले गरेका छौँ,’ उनले भने।

देश सङ्कटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै ओलीले मुलुकलाई निकास दिन आन्दोलन आवश्यक रहेको धारणा राखे। आन्दोलनलाई नकारात्मक रूपमा लिन नहुने बताउँदै उनले आन्दोलनबाटै पार्टीले शक्ति आर्जन गर्न र अघि बढ्न सक्ने जिकिर गरे।

‘देश गम्भीर अवस्थामा छ। यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ। यसका लागि आन्दोलनका लागि तयार हुनुपर्छ,’ उनले भने।

आन्दोलन गर्ने आँट नगरे सफलता हासिल गर्न नसकिने दाबी गर्दै ओलीले आन्दोलनले पार्टीलाई टिकाउन, अघि बढाउन र विजय हासिल गर्न सहयोग गर्ने बताए।