काठमाडौँ ।
वैदेशिक रोजगार विभागले मलेसियाका लागि श्रमिक भर्ना गर्न छनोट भएका २५ म्यानपावर कम्पनीका सञ्चालकलाई ३५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। तोकिएको समयभित्र उपस्थित नभए बैंकिङ कारोबार र यात्रा अनुमति रोक्का गर्ने विभागले चेतावनी दिएको छ।
वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएका व्यवसायीमध्ये रविन गुरुङ पक्राउ परिसकेका छन्। अन्यलाई विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन भनिएको छ।
मलेसियाले नेपालका २५ म्यानपावर कम्पनीलाई मात्रै ‘प्रिन्सिपल एजेन्सी’ का रूपमा छनोट गरेपछि छनोट प्रक्रियामाथि अनुसन्धान सुरु भएको हो। श्रम मन्त्रालयको निर्देशनमा विभागले छनोटको आधार, मापदण्ड र सम्भावित गैरकानुनी आर्थिक गतिविधिबारे छानबिन गरिरहेको छ।
अनुसन्धान पूरा नभएसम्म सम्बन्धित कम्पनीको पूर्वश्रमस्वीकृति रोकिएको छ। यता, म्यानपावर सञ्चालकहरूले आफूहरू छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन्। नेपालले सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई मलेसियाको प्रणालीमा समावेश गर्न आग्रह गरे पनि विवाद समाधान हुन सकेको छैन।











प्रतिक्रिया