गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माणमा ढिलाइ, प्रगति ६५ प्रतिशत मात्रै


चितवन ।

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यमा ढिलाइ भएको छ। आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ६५ प्रतिशत मात्रै काम पूरा भएको छ।

बागमती प्रदेशबाट बजेट निकासा हुन ढिलाइ, निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन तथा पुरानो संरचनामा निर्माण गर्नुपर्नेलगायतका कारण काम प्रभावित भएको हो। निर्माण कम्पनीले पनि सम्झौता अवधिभित्र काम सम्पन्न गर्न नसकिने जनाएको छ।

रंगशालाको मुख्य मैदान, विद्युत् जडान तथा केही संरचनाको काम बाँकी छ। चारवटा प्यारापिटमध्ये दुईवटा पूरा भएका छन् भने तेस्रो ९० प्रतिशत र चौथो ७० प्रतिशत सम्पन्न भएको छ। हाल दैनिक करिब ८० जना कामदार निर्माणमा खटिएका छन्।

सुरुमा ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा सम्झौता भएको रंगशालाको लागत पहिलो भेरिएसन अर्डर स्वीकृत भएपछि बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ। निर्माण कम्पनीले काम सम्पन्न गर्न म्याद थप माग्ने तयारी गरेको छ।

भरतपुर महानगरपालिकाले निर्माण कम्पनीलाई आवश्यक सहयोग गर्दै काम छिटो सम्पन्न गर्न आग्रह गरेको छ। रंगशाला निर्माण पूरा भएपछि भरतपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने महानगरको लक्ष्य छ।