सर्वोच्चमा १९ वर्ष पुराना मुद्दा, सुनुवाइमा ढिलाइ


काठमाडौँ ।

सर्वोच्च अदालतमा १९ वर्षसम्म पुराना मुद्दासमेत विचाराधीन रहँदा न्याय सम्पादनमा ढिलाइ भइरहेको छ। हाल सर्वोच्चमा करिब २६ हजार मुद्दा विचाराधीन छन्। तीमध्ये दुई वर्ष नाघेका ९ हजार ८ सय ५३ र पाँच वर्ष नाघेका १ हजार २ सय ४९ मुद्दा रहेका छन्।

पुराना मुद्दाको चाङ घटाउन सर्वोच्च अदालतले हप्ताको तीन दिन अभियान फाँटमार्फत सुनुवाइलाई प्राथमिकता दिँदै आएको छ। पाँच वर्ष पुगेका मुद्दा स्वतः अभियान फाँटमा पर्ने र अभियानमा परेका मुद्दाको पेसी स्थगित गर्न नपाइने व्यवस्था गरिएको छ। तर, हेर्न नभ्याइने, हेर्न नमिल्ने तथा आवश्यक प्रक्रिया पूरा नभएका कारण सुनुवाइमा ढिलाइ भइरहेको छ।

सर्वोच्चमा १९ वर्षदेखि विचाराधीन लाउडा विमान भाडासम्बन्धी भ्रष्टाचार मुद्दा र ११ वर्ष पुरानो छायादेवी सेन्टर विवादसम्बन्धी मुद्दाले अझै पूर्ण सुनुवाइ पाउन सकेका छैनन्। त्यस्तै, मैना सुनुवार हत्या प्रकरणमा सुनुवाइ सकिए पनि निर्णय सुनाउने प्रक्रिया लम्बिएको छ।

पुराना मुद्दा छिटो फर्स्योट गर्न गठित कार्यदलले छुट्टै इजलास गठन, मुद्दा स्थगित नगर्ने र समय व्यवस्थापन प्रभावकारी बनाउने सुझाव दिए पनि ती सबै सुझाव पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन्। जिल्ला र उच्च अदालतमा मुद्दा फर्स्योट दर ६५ प्रतिशतभन्दा माथि रहे पनि सर्वोच्च अदालतमा भने मुस्किलले ४० प्रतिशत पुग्ने गरेको छ।