दमौली ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यापक एकता कायम हुँदै गएको उल्लेख गर्दै अझै बाहिर रहेका सबैलाई एकताबद्ध बनाउन आफूहरू तयार रहेको बताएका छन्।
नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले कांग्रेसलाई रूपान्तरण भएको अनुभूति जनतामाझ दिलाउनु अहिलेको आवश्यकता रहेको बताए। उनले सबै पक्षसँग सहमति र सहकार्य गर्दै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिए।
पौडेलले पार्टीप्रति असन्तुष्ट रहेका जनतालाई पुनः कांग्रेसप्रति आकर्षित गर्न आवश्यक योजना ल्याइने बताए। बाटो फरक भए पनि सबैको गन्तव्य एउटै रहेको उल्लेख गर्दै उनले पार्टीभित्र एकताको प्रयासलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
उनले एउटै विषयमा अल्झिएर बस्नुभन्दा पार्टीलाई थप सुदृढ, जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन लाग्नुपर्ने बताए। कांग्रेसमा रूपान्तरण आएको अनुभूति जनताले गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
महामन्त्री पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने धारणा व्यक्त गरेका छन्। सरकारको स्थिरताको पक्षमा कांग्रेस रहेको बताउँदै उनले सरकारले गलत काम गरेमा भने निरन्तर खबरदारी गरिरहने स्पष्ट पारे।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक भट्टराई, निवर्तमान केन्द्रीय सदस्य ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सहमहामन्त्री शंकर पन्तलगायतले शुभकामना मन्तव्य राखेका थिए।











प्रतिक्रिया