काठमाडौं
काठमाडौंको वसन्तपुरस्थित ऐतिहासिक श्रीखण्ड तरुमुल महाविहारका सदस्यहरूले जीवित देवदेवी गणेश, भैरव र कुमारीको हातबाट टीका ग्रहण गरी यस वर्षको मोहनी नखः मनाएका छन्। श्रीखण्ड तरुमुल महाविहार संरक्षण तथा सञ्चालन समितिको आयोजनामा परम्परागत नेवारी बाजागाजासहित नगर परिक्रमा गरी जीवित देवदेवीको घरमा पुगेर पूजाअर्चना गरिएको थियो। त्यसपछि गणेश, भैरव र कुमारीको हातबाट टीका ग्रहण गरिएको हो।

महाविहार संरक्षण तथा सञ्चालन समितिका अध्यक्ष ई. दिल्लीरत्न शाक्यका अनुसार यस वर्ष भोटेकोशी र बूढीगण्डकीमा आएका बाढीबाट भएको जनधनको क्षतिलाई समेत ध्यानमा राख्दै प्राकृतिक विपद्बाट सबैको रक्षा होस् भन्ने कामनासहित जीवित देवदेवीको पूजाअर्चना गरिएको हो। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। त्यसको केही सातापछि असोज २५ गते गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पनि बस्ती तथा भौतिक संरचनामा क्षति पुर्याएको थियो।

मोहनी नखःलाई उल्लासमय बनाउनुका साथै महाविहारका सदस्यहरूबीच भाइचारा र सौहार्दपूर्ण सम्बन्ध थप बलियो बनाउने उद्देश्यले समितिले चार वर्षअघि जीवित देवदेवीको हातबाट टीका ग्रहण गर्ने परम्परा सुरु गरेको हो।नेपाल संवत्को चन्द्रमासमा आधारित पात्रोअनुसार कौलाथ्व महिनाको अन्तिम दिन मनाइने मोहनी नखःलाई वर्षभरि गरेका कामको समीक्षा गर्दै नयाँ वर्षको स्वागत गर्ने अवसरका रूपमा पनि लिइन्छ। वर्षभरि गरेका राम्रा कामलाई निरन्तरता दिने र भूलवश भएका गल्तीप्रति क्षमायाचना गर्दै नयाँ वर्षको सुरुवात गर्ने मान्यताअनुसार गणेश, भैरव र कुमारीको पूजाअर्चना गर्ने परम्परा रहेको छ।

कुमारी घरसँगै रहेको यस महाविहारमा सात सयभन्दा बढी सदस्य छन्। महाविहारको स्थापना सातौँ शताब्दीमा प्रख्यात बौद्ध सिद्धाचार्य लिलावज्र बज्राचार्यले गरेको मानिन्छ। काष्ठमण्डप निर्माणमा विशेष योगदान दिएका लिलावज्रसँग यस महाविहारको इतिहास पनि जोडिएको छ।
सिखंमू बहाःका नामले समेत चिनिने यस महाविहारको नामकरणसँग सम्बन्धित जनश्रुतिअनुसार काष्ठमण्डप निर्माणपछि बाँकी रहेको रुखको काठका टुक्रा तथा जराबाट महाविहार बनाइएको थियो। त्यही काठबाट सँगैको सिंह सतलसमेत निर्माण गरिएको र बाँकी रहेको काठको प्रयोगबाट महाविहार बनेकाले यसलाई सिखंमू बहाः भनिएको विश्वास गरिन्छ।












प्रतिक्रिया