ललितपुर।
धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पाटनको परम्परागत अष्टमातृका नाच (गँः प्याखँ) सम्पन्न भएको छ।
हरेक वर्ष घटस्थापनादेखि ११ दिनसम्म परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ प्रदर्शन गरिने यो नाच यस वर्ष पनि विधिपूर्वक सम्पन्न भएको अष्टमातृका नाच व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए।
मल्लकालीन राजा श्रीनिवास मल्लको शासनकालमा नेपाल संवत् ७८४ देखि सुरु भएको मानिने यो नाच करिब ३६२ वर्ष पुरानो छ। नेवार समुदायको शाक्य र बज्राचार्य वंशका कलाकार सहभागी हुने यस नाचले देशमा शान्ति, सुरक्षा र समृद्धि कायम हुनुका साथै मानव जीवनका आठ महाभयबाट मुक्ति मिल्ने धार्मिक विश्वास बोकेको छ।
यस वर्ष घटस्थापनाका दिनदेखि सुरु भएको नाच नकबहिल, पाटन दरबार क्षेत्रको मूलचोक र कात्तिक डबलीलगायत स्थानमा प्रदर्शन गरिएको थियो। अन्तिम दिन एकादशीका अवसरमा नकबहिल डबलीमा विशेष नृत्य प्रदर्शन गरी जात्रा समापन गरिएको हो।
शक्तिको उपासनासँग सम्बन्धित यस नाचमा विभिन्न देवीदेवताका मुकुन्डो, परम्परागत तान्त्रिक भेषभूषा र गरगहना लगाएका १३ देवगण सहभागी हुन्छन्। नेवा सभ्यताको मौलिकता र सांस्कृतिक वैभव झल्काउने यो नाच अवलोकन गर्न स्थानीयवासी तथा संस्कृतिप्रेमीहरूको उल्लेख्य सहभागिता रहने गरेको छ।











प्रतिक्रिया