हायहाय– सुईसुई राजाकै पालादेखिको खड्गेजात्रा

0
Shares

दोलखा ।

ऐतिहासिक दोलखा शहरमा एकदिनमात्र प्रर्दशन गरिने परम्परागत खड्गेजात्रा विहिवार सकिएको छ ।

पौराणिक कथामा आधारीत यो जात्रा प्रत्येक बर्ष विजया दशमी (टिका) को भोलिपल्ट विहान देखि साँझसम्म बिभिन्न टोलमा प्रर्दशन गरिने प्रचलन रहेको स्थानीयको भनाई छ । यो जात्रा नेपालको दोलखा सहरमा मात्र प्रर्दशन गरिन्छ ।

खड्ग जात्रा प्रर्दशनको क्रममा सेतो दौरा, सेतो जामा र सेतै फेटा पहिरी जमाराको माला लगाई, खड्ग हातमा लिएर बजारको विभिन्न भागमा युद्धको शैलीमा नाच्ने प्रचलन रहेको छ ।

मल्ल कालीन समयदेखि चल्दै आएको यो जात्रा देव– देवीले महिषासुर दानवको वध गरी विजय प्राप्त गरेको सम्झनामा बडा दशैँ टीकाको भोलिपल्ट विहान देखी साँझसम्मै मनाइने परम्परा रहेको स्थानीय भरत नारायण प्रधानले बताए ।

किंवदन्ति अनुसार दानवहरुले देव– देवी तथा मनुष्यहरुलाई विभिन्न प्रकारले दुःख दिन लागेपछि देव– देवीहरुले युद्ध गरी महिषासुर दानवको बध गरी दुःखबाट पार पाउने निष्कर्ष निकालेर युद्धको साइत जुराई भाद्र पूर्णिमादेखि युद्ध सुरु गरेका थिए ।

युद्ध सुरु हुनुअघि पूजा सामग्री साथ निमन्त्रणा र सहयोगको लागि देव– देवीहरु जनै पूर्णिमाको अघिल्लो दिन कालिञ्चोक भगवती भएको ठाँउमा जाने र जनै पूर्णिमाको दिन त्यहीँबाट निसाना लिएरआई दोलखा सहरको राइती भन्ने तीन धारा अगाडि यज्ञको सुरुवात गरी युद्ध गर्ने परम्परा रहेको स्थानीय जेष्ठ नागरिक यज्ञकुुमार प्रधानले बताए । जेष्ठ नागरिक प्रधान लामोसमय खड्गजात्रामा याकरगण बनेका थिए ।

देव– देवीले राइतीमा यज्ञ गरेको खवर पाएपछि दानवहरु यज्ञ ध्वस्त गर्न त्यस ठाँउमा आए र यज्ञमा वितण्डा मच्चाउन थाले ।

दानवहरुको यस्तो कार्यले देव– देवीहरु क्रुद्ध भए र दानव तथा देव– देवीको बीचमा भीषण युद्ध भयो । युद्धमा दानवहरु पराजित भए र विजया दशमीको दिन देवदेवीले महिषासुरको शिर छेदन गरी विजय हासिल गरे । यसरी देव– देवीले युद्धमा महिषासुरको बध गरी विजय हासिल गरेको सम्झनाको लागि दोलखा सहरमा खड्ग जात्राको सुरुवात गरिएको स्थानीयको भनाई छ ।

खड्ग जात्रा मनाउन दोलखाको राजकुलेश्वरदेखि केही तल रहेको चक्र डबलीमा नवमीको दिन पुजारीहरुद्वारा चामलको भातबाट चक्रेश्वर वलि राजाको मूर्ति बनाई स्थापना गर्ने र त्यस मूर्तीमा स्थानीय कुसुले समुदायका मानिसले राँगाको बलि दिने प्रचलन समेत रहेको स्थानीय ज्ञानेन्द्र प्रधान बताउछन् ।

भीमेश्वर डोबर डबलीबाट सुरु हुने युद्ध नाच कालीको मन्दिर हुँदै त्रिपुरा सुन्दरी मन्दिरमा पुग्ने र त्रिपुरा सुन्दरीसँग सहायता मागी उनको नाबालक छोरा बटुक भैरबलाई घण्टा, डमरु, खड्ग सहितको राँगाको आन्द्राको माला लगाई युद्धको लागि लिएर जाने प्रचलन रहेको स्थानीय बताउछन् ।

बटुक भैरव समेतको सेना त्रिपुरा सुन्दरीबाट ढुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेव स्थान, राजकुलेश्वर हुँदै चक्रराज बलि राजाको मूर्ति स्थापना गरेको ठाँउमा पुग्ने र भीमेश्वर स्थान तथा त्रिपुरा सुन्दरी मन्दिरमा बलि दिइएको राँगाको टाउको राखी राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरी महिषासुरको शिर छेदन गर्दै सगुन सहित बाजा बजाएर विजय उत्सव मनाई खड्ग जात्राको समापन गर्ने प्रचलन रहेको स्थानीय बताउछन् ।

खड्ग जात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरा सुन्दरी र राजकुलेश्वर मन्दिरको पुजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी सर्व साधारणलाई टीका लगाई दिने प्रचलन समेत रहेको छ । दोलखा सहर छुट्टै राज्य हुदा हायहाय– सुईसुई राजाको पाला देखिनै प्रचलनमा रहेको खड्ग जात्रालाई मल्ल राजाको पालामा व्यवस्थित गरिएको भनाई छ ।

एकथरी किंवदन्ती अनुसार कालिञ्चोक माताले दोलखाको एक जना नेवार, सुनखानीका एक जना शिवाकोटी र बोचका एकजना वस्नेतलाई सपनामा तिमिहरु मेरो असली भक्त हौ मेरो खड्ग तिमिहरुले लगेर पुजागर्नु भनेपछि तीनैजनाले दुुई– दुईवटा खड्ग लिएर आएको र त्यहि खड्ग दोलखाको खड्गे जात्रामा प्रयोग गरिएको मानिन्छ ।

यो जात्रालाई निरन्तरता दिने क्रममा नयाँ पुस्ताका युवाहरुले बिभिन्न भूमिका निर्वाह गर्दै आएको स्थानीय भरत श्रेष्ठले बताए । यो जात्रा हेर्न दोलखाको स्थानीय सहित सदरमुकाम चरिकोट लगायत देशका बिभिन्न भागबाट समेत मानिसहरु पुग्ने गरेको स्थानीय बताउछन् ।