मध्यपुरथिमिमा मल्लकालीन युद्धकला प्रदर्शन गर्दै खाँ पिहाँवइगु जात्रा


भक्तपुर ।

भक्तपुरको मध्यपुरथिमिमा असोज शुक्ल पक्षको एकादशीका अवसरमा मल्लकालीन युद्धकलाको झल्को दिने खाँ पिहाँवइगु जात्रा बिहीबार सम्पन्न भएको छ।

लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल र युद्धकवचसहित निस्किएको जात्रामा गुठियारले नगरका विभिन्न टोलमा परम्परागत युद्धकला प्रदर्शन गरेका थिए।

परम्पराअनुसार जात्रा माथिल्लो टोलको इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र तल्लो टोलको दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिन्छ।

जात्राका क्रममा बालकुमारीमा कुभिण्डोमा प्रहार गरी बलि दिने चलन छ। बलि दिइएको कुभिण्डो प्रसादका रूपमा ग्रहण गरे रोगबाट बच्न सकिने जनविश्वास रहेको छ। जात्रा अवलोकन गर्न स्थानीयवासीको उल्लेख्य भीड लागेको थियो।