काठमाडौं ।
नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ। आज देशभरका नेपालीले मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाउँदैछन्।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। त्यस्तै, देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरिएको छ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार दिनभर टीका लगाउन सकिने भए पनि शुभ साइतमा टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय तोकिएको हो। साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्नेछ।
दशैंमा परिवार तथा आफन्तजन भेला भई टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। रोजगारी, अध्ययन तथा व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नेपालीसमेत दशैं मनाउन घर फर्किने भएकाले यो पर्व पारिवारिक भेटघाट र पुनर्मिलनको अवसरका रूपमा मनाइन्छ।











प्रतिक्रिया