सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा, मोटरसाइकलबाट ब्राउनसुगर बरामद


सुनसरी ।

सुनसरी प्रहरीले एम्बुलेन्सबाट ५७४ किलो ८७० ग्राम गाँजा तथा भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट ब्राउनसुगर र प्रतिबन्धित औषधिका ट्याब्लेट बरामद गरेको छ।

प्रहरीका अनुसार सोमबार बिहान इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको सूचनाका आधारमा खोजतलास गर्दा दुहबी–६ स्थित बूढी खोलाको किनारमा ‘नेपाल–भारत सहयोग’ लेखिएको ना.४ च ६०६३ नम्बरको एम्बुलेन्समा लोड गरिएको गाँजा फेला परेको हो। एम्बुलेन्सका चालक र तस्करीमा संलग्न व्यक्ति फरार रहेका छन्।

त्यस्तै, भोक्राहा नरसिंह गाउँपालिका–२ निवासी अर्सद अन्सारीको घरमा पार्किङ गरिएको बीआर ३८ एजे ७३१२ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा ३ ग्राम ६३० मिलिग्राम ब्राउनसुगर, ७२ ट्याब्लेट स्पाज्मो र ९० ट्याब्लेट नित्जासेसीन बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले अन्सारीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवाको हिरासतमा राखेको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।