काठमाडौँ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रवार बिहान ७ देखि अपराह्न ३ बजेसम्म मतदान हुने भएको छ । खराब मौसम तथा मतपत्र छपाइमा ढिलाइ भएकाले निर्वाचन समितिले कार्यक्रम परिमार्जन गर्दै मतदानको समय सारेको हो ।
महाधिवेशन अवधि एक दिन लम्बिएपछि केन्द्रीय कार्यालयले प्रतिनिधिहरूका लागि आवास र भोजनको थप प्रबन्ध मिलाएको छ । मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आवासका लागि सम्बन्धित क्षेत्रीय सभापतिमार्फत केन्द्रीय कार्यालयको डेस्कमा सम्पर्क गर्न सकिनेछ । भोजनको व्यवस्था पूर्ववत् स्थान भृकुटीमण्डपमा नै मिलाइएको छ । आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले थपिएको दिनको खर्च पार्टीले नै बेहोर्ने जानकारी दिनुभयो ।
यस्तै, भोजनको हकमा असोज २२ गते साँझसम्म पूर्वनिर्धारित तालिकाबमोजिम नै व्यवस्था रहेको र थपिएको समयावधिका लागि पूर्ववत् स्थान भृकुटीमण्डपमा नै खानाको प्रबन्ध मिलाइएको छ । मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार अधिवेशन अवधि लम्बिएका कारण समस्यामा परेका प्रतिनिधिहरूले आवासका लागि आ–आफ्नो क्षेत्रका क्षेत्रीय सभापतिमार्फत केन्द्रीय कार्यालयको डेस्कमा सम्पर्क राख्न सक्नेछन् । सम्पर्क पश्चात् आवश्यक आवास व्यवस्थापन गरिने जनाइएको छ ।
अधिवेशनको समय थपिएपछि उत्पन्न असहज परिस्थितिलाई बाध्यताका रूपमा बुझिदिन आग्रह गर्दै सभापति गगनकुमार थापाले सम्पूर्ण प्रतिनिधिहरूलाई एकताबद्ध भएर बिहानैदेखि उत्साहका साथ निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभएको छ ।
कुल ७ हजार ३ सय १७ प्रतिनिधिले मतदानका लागि तोकिएको प्रदेश तथा समूहअनुसारका केन्द्रमा पुग्नुपर्नेछ । निर्वाचन समितिका अनुसार राष्ट्रिय सभा गृह (केन्द्र ‘क’) मा बागमती प्रदेश, खुलामञ्च (केन्द्र ‘ख’) मा कोशी प्रदेश, हिमाल हलमा गण्डकी प्रदेश, तराई–मधेस हलमा मधेस प्रदेश तथा पहाड हलमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, जनसम्पर्क समिति र भ्रातृ संस्थाका प्रतिनिधिले मतदान गर्नेछन् ।
मतदानस्थलमा प्रवेश गर्नुअघि परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ । मोबाइल फोनलगायत आचारसंहिताले निषेध गरेका सामग्री लैजान पाइने छैन । उम्मेदवारी दर्ता तथा फिर्ताको प्रक्रिया सकिएर अन्तिम नामावली प्रकाशन भइसकेको छ । अब मतदानमार्फत २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति (सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यहरू) चयन हुनेछ । मतदान सकिएलगत्तै मतपेटिका सुरक्षित गरी मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।











प्रतिक्रिया