कांग्रेस महाधिवेशन : मतदान समय फेरि सर्‍यो, साढे २ बजेबाट सुरु हुने


काठमाडौं ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय फेरि सारिएको छ। यसअघि बिहान १० बजेका लागि तोकिएको मतदान समय १ बजे हुँदै २ बजेसम्म सारिएको थियो। पछिल्लो निर्णयअनुसार अब मतदान दिउँसो साढे २ बजेबाट सुरु हुने भएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार साढे २ बजे ज्येष्ठ मतदाताबाट मतदान सुरु गर्ने तयारी गरिएको छ। निर्वाचन समितिका सदस्य सुजन लोप्चनले भने आवश्यक मतपत्र अझै मतदानस्थलमा आइपुगिनसकेको जानकारी दिएका छन्।

मतदानको समय पटक–पटक सर्दा महाधिवेशनमा सहभागी प्रतिनिधिहरू बिहानैदेखि मतदानको प्रतीक्षामा रहेका छन्।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि काठमाडौंका तीन स्थानमा गरी सातवटा मतदान केन्द्र तोकिएका छन्। प्रदेश तथा प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र स्थापना गरिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ।

त्यसैगरी, खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था मिलाइएको छ।

सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमै पुगेर मतदान गर्नुपर्नेछ। मतदानअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने र त्यसपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।