काठमाडौँ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ । क्रिकेटको रोमाञ्च र समर्थकहरूको उत्साहलाई संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको एन्थम प्रतियोगिता सुरु हुनुअघि सार्वजनिक गरिएको हो ।
क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा, खेलाडीहरूको जित्ने अठोट र समर्थकहरूको उत्साहलाई समेटेर तयार पारिएको एन्थमले एनपीएलको माहोललाई थप ऊर्जावान् बनाउने अपेक्षा गरिएको छ । हरेक चौका–छक्का र टोलीको जितमा समर्थकहरूले व्यक्त गर्ने खुसीलाई सांगीतिक रूपमा प्रस्तुत गर्दै क्रिकेट र संगीतलाई एउटै उत्सवमा जोड्ने प्रयास गरिएको कम्पनीले जनाएको छ ।
‘एक्स्ट्रीम एन्थम’ मा युनिक पोयट नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द रहेको छ भने ब्लुस (सुरज शाही) ले संगीत सिर्जना तथा संयोजन गरेका छन् । एन्थमको निर्माण एनएफटीपी टिमले गरेको हो ।
एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रीम इनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ । त्यस्तै, पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको छ ।
विशेषगरी युवा पुस्ताको सांगीतिक रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर तयार पारिएको यस एन्थमले खेलाडी र समर्थकबीचको भावनात्मक सम्बन्धलाई संगीतमार्फत जोड्ने लक्ष्य राखेको छ । कम्पनीका लागि यो केवल सांगीतिक प्रस्तुति मात्र नभई क्रिकेटप्रतिको साझा उत्साहलाई अभिव्यक्त गर्ने माध्यमसमेत हो ।
‘एक्स्ट्रीम एन्थम’ एक्स्ट्रीम इनर्जी ड्रिङ्कको आधिकारिक युट्युब तथा टिकटकमार्फत हेर्न र सुन्न सकिनेछ ।











प्रतिक्रिया