खुलामञ्चबाट दलहरूलाई एउटै सन्देश अब क्रमभंगता र संवादको राजनीति

गगनको' खुला संसद्’देखि प्रचण्डको 'क्रमभंगता’सम्म, रविको आत्मालोचनादेखि लिब्देनको 'नयाँ समझदारी’को प्रस्ताव


काठमाडौँ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा दलका नेताहरूले आ–आफ्नाराजनीतिक धारणा राखे पनि काठमाडौँको खुलामञ्चबाट व्यक्त अधिकांश अभिव्यक्तिकोकेन्द्रमा एउटै प्रश्न देखियो ।अबको राजनीति पुरानै ढर्राबाट चल्ने कि नयाँ ढंगले अघि बढ्ने, कांग्रेस सभापति गगनकुमार थापाले खुलामञ्चलाई लोकतान्त्रिक संवादको प्रतीकका रूपमा व्याख्या गर्दै संसद्, राजनीतिक दल र राज्यका संस्थाहरू जनताका प्रश्न, असहमति र विचारका लागि खुला हुनुपर्ने बताउनुभयो । उहाँले महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने कार्यक्रमका रूपमा नहेर्न आग्रह गर्दै खुलामञ्चबाट कांग्रेसले केही सन्देश लिनु र केही संकल्प गर्नुपर्ने बताउनुभयो ।

१० वर्षपछि खुलेको खुलामञ्च काठमाडौँको एउटा चौर मात्र नभई नेपाली राजनीतिक आन्दोलनको साक्षी रहेको उल्लेख गर्दै थापाले बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायतका नेताले यहीँबाट राजनीतिक सन्देश दिएको स्मरण गर्नुभयो । उहाँका अनुसार खुलामञ्चको अर्थ मतभेद अन्त्य गर्नु होइन, फरक मतलाई एउटै सार्वजनिक मञ्चमा ल्याएर संवाद गर्ने संस्कार निर्माण गर्नु हो । थापाले यही सन्दर्भमा ‘खुलामञ्च’ अब संसद्मा पनि आवश्यक रहेको धारणा राख्नुभयो । जनताबाट निर्वाचित सांसदले प्रधानमन्त्री बनाउने प्रक्रियामा सहभागी भएपछि प्रधानमन्त्रीले आफूलाई समर्थन गर्ने वा नगर्ने सबै सांसदको सम्मान गर्नुपर्ने बताउँदै उहाँले संसद् जनताका प्रश्न र असहमतिको खुला थलो बन्नुपर्ने बताउनुभयो ।कांग्रेस महाधिवेशनको मञ्चबाट उहाँले राजनीतिक दलभित्रको लोकतन्त्र, सार्वजनिक संस्थाको जवाफदेहिता र राज्य सञ्चालनमा पारदर्शितालाई जोड दिनुभयो ।

यसैबीच रास्वपा सभापति रवि लामिछानेले कांग्रेसको राजनीतिक संस्कारमाथि टिप्पणी गर्दै पार्टीले निष्ठा, समानुपातिक प्रतिनिधित्व र नयाँ पुस्तालाई पर्याप्त अवसर दिएको भए आफू पनि कांग्रेसमै रहेको हुनसक्ने बताउनुभयो । उहाँले राजनीतिक दलबीच प्रतिस्पर्धा भए पनि राष्ट्रियता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनजीविकाका विषयमा साझा राष्ट्रिय धारणा आवश्यक रहेको बताउनुभयो । देशको प्रश्न आउँदा पार्टी र झण्डाभन्दा माथि
उठेर ‘मुलुक, मुलुक र मुलुक’लाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो । उहाँले बालेन शाह नेतृत्वको सरकार नढल्ने दाबी गर्दै सरकार ढल्ने भविष्यवाणी गर्नेहरू नै बेहोस भएर ढल्ने टिप्पणीसमेत गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने क्रमभंगता’को राजनीतिक सन्देश अघि सार्नुभयो । थापा र लामिछाने दुवैलाई पुरानोराजनीतिक अभ्यास तोड्दै अघि बढ्न सुझाव दिँदै प्रचण्डले आफूले विगतमा शान्तिप्रक्रियादेखि संविधान र गणतन्त्रसम्म क्रमभंग गर्दै आएको स्मरण गर्नुभयो । अब नयाँ पुस्ताको पालो आएको भन्दै उहाँले थापा र लामिछानेलाई नयाँ राजनीतिक अभ्यास अघि बढाउन आग्रह गर्नुभयो । तर प्रचण्डले देश, लोकतन्त्र र संविधान अप्ठ्यारो अवस्थामा रहेको भन्दै सरकारका कतिपय अभिव्यक्ति र गतिविधिले स्वेच्छाचारिताको जोखिम बढाएकोटिप्पणी पनि गर्नुभयो ।

एमाले महासचिव शंकर पोखरेलले पनि दलहरूबीच संवादको आवश्यकता औँल्याउँदै सरकार प्रतिपक्षसँग सहकार्य गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले भूराजनीतिक द्वन्द्वका कारण नेपालको भविष्यबारे प्रश्न उठेको भन्दै राष्ट्रियताको विषयमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने र लोकतन्त्र रक्षाका लागि सामूहिक रूपमा अघि बढ्नुपर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिब्देनले भने राजनीतिक दलहरूले अपनाएको निषेधको राजनीति अन्त्य गरी नयाँ राष्ट्रिय समझदारी निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । वर्तमान शासन व्यवस्था र संविधानका कमजोरीमाथि समेत समीक्षा आवश्यक रहेको भन्दै उहाँले संविधानलाई अपरिवर्तनीय दस्तावेजका रूपमा लिन नहुने बताउनुभयो ।राजतन्त्रवादीदेखि नयाँ पुस्तासम्मका फरक राजनीतिक धारलाई संवादमा ल्याएर राष्ट्रियसहमति खोज्नुपर्ने उहाँको प्रस्ताव थियो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि बदलिँदो समयसँगै राजनीतिक दलरूपान्तरण हुनुपर्ने बताउनुभयो । २१औँ शताब्दीको प्रविधि, सामाजिक परिवर्तन र नयाँ पुस्ताका आकांक्षाले पुरानो शैलीको राजनीति स्वीकार नगर्ने उल्लेख गर्दै उहाँले पुरानादल रूपान्तरण हुनुपर्ने वा नयाँ राजनीतिक शक्तिको उदय स्वाभाविक हुने बताउनुभयो ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनलाई केवल संसद्को अंकगणितकोविषय नबनाउन आग्रह गर्दै यसलाई राष्ट्रिय चिन्तन र राष्ट्रिय आवश्यकतासँग जोडेर हेर्नुपर्ने बताउनुभयो । महाधिवेशनमा उठेका अभिव्यक्तिहरूलाई समग्रमा हेर्दा कांग्रेसले आफ्नो आन्तरिक नेतृत्व चयनसँगै राजनीतिक संस्कार, संविधान, शासन प्रणाली, पुस्तान्तरण, समावेशिता र राष्ट्रिय सहमतिको बहसलाई समेत अगाडि बढाउने संकेत दिएको देखिन्छ ।

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पनि सत्ता कति समय चलाउने भन्ने प्रतिस्पर्धाभन्दादेशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा आवश्यक रहेको बताउनुभयो । खुलामञ्चमा फरक राजनीतिक धारका नेताहरू एउटै मञ्चमा उभिनु आफैँमा संवादको प्रतीकबनेको छ । त्यसैले कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह केवल एउटापार्टीको महाधिवेशन उद्घाटनमा सीमित रहेन; यसले नेपाली राजनीतिमा पुरानो अभ्यासको समीक्षा, नयाँ पुस्ताको हस्तक्षेप, दलहरूबीच संवाद र सम्भावित राजनीतिक पुनर्संरचनाको बहसलाई सार्वजनिक मञ्चमा ल्याएको छ।