धन्न खुलामञ्च राम्रो बनाइएछ, पार्टीले गाली गर्न पाए : प्रधानमन्त्री शाह


काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा आफूविरुद्ध टिप्पणी भएपछि सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक प्रतिक्रिया जनाएका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न वक्ताले प्रधानमन्त्री शाहप्रति टिप्पणी गरेपछि उनले फेसबुकमार्फत प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!’

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आइतबार काठमाडौंको खुलामञ्चमा भएको थियो। कार्यक्रममा कांग्रेसका नेता तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो।

उद्घाटन समारोहमा कांग्रेस सभापति गगन थापाले समेत प्रधानमन्त्री शाहको कार्यशैलीप्रति टिप्पणी गरेका थिए। थापाले प्रधानमन्त्री शाह संसद्‌मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने धारणा राखेका थिए।

सोही अभिव्यक्तिपछि प्रधानमन्त्री शाहले महाधिवेशनस्थल खुलामञ्चलाई उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका हुन्।