सशस्त्र प्रहरीद्वारा ब्राउन सुगरसहित एक जना पक्राउ

0
Shares

उदयपुर।

उदयपुरमा सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हेडक्वार्टर त्रियुगा उदयपुरबाट खटिएको गस्ती टोलीले त्रियुगा नगरपालिका–११ गाईघाट बजारस्थित बाबारानी मार्गबाट लागुऔषधसहित ३१ वर्षीय महेन्द्र कार्कीलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाका आधारमा सहायक प्रहरी निरीक्षक अम्बरबहादुर जोगीको कमाण्डमा खटिएको १० जनाको मोबाइल गस्ती टोलीले शंका लागेर कार्कीलाई चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा त्रियुगा नगरपालिका–१२ इन्द्रेणी टोल निवासी तोडबहादुर कार्कीका छोरा महेन्द्र कार्कीको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको हो। प्रहरीले उक्त पदार्थ १ ग्राम ३३ मिलिग्राम रहेको र ६ वटा पोका बनाइएको जनाएको छ।

कार्कीको साथबाट सशस्त्र प्रहरीले दुई थान मोबाइल, नगद २ हजार रुपैयाँ र एउटा यामाहा स्कुटरसमेत बरामद गरेको जनाएको छ। बरामद मोबाइलमध्ये एक थान सामसुङ ग्यालेक्सी र अर्को एक थान किप्याड मोबाइल रहेको बताइएको छ।

पक्राउ परेका कार्की, बरामद लागुऔषध, स्कुटर, मोबाइल तथा नगद रकम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हेडक्वार्टर त्रियुगाले जनाएको छ।