सरकार ढल्ने हल्ला गर्नेहरू नै सरकार नढलेको देखेर ढल्छन् : सभापति लामिछाने


काठमाडौँ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार नढल्ने दाबी गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार कमजोर भएको तथा जुनसुकै बेला ढल्न सक्ने भन्दै चर्चा गर्नेहरूमाथि व्यंग्य गरेका हुन्।

‘कहिलेकाहीँ सुनिन्छ, सरकार कमजोर भयो, सरकार ढल्छ, अहिल्यै ढल्छ, भोलि ढल्छ, दसैँमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपाल संवत्मा ढल्छ,’ उनले भने, ‘ढल्न त ढल्छ, तर यो पटक–पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोस भएर ढल्छ।’

लामिछानेले यसपटकको सरकार गठन व्यक्तिकेन्द्रित नभई इतिहास परिवर्तन गर्ने उद्देश्यसहित भएको दाबी गरे। उनले राजनीतिक दलहरूलाई जनताको मतको सम्मान गर्न आग्रहसमेत गरे।

लोकतन्त्रमाथि कुनै खतरा नरहेको उल्लेख गर्दै उनले पुराना राजनीतिक दलहरूले मात्रै लोकतन्त्रको संरक्षण गर्ने जिम्मेवारी आफूहरूसँग रहेको जस्तो व्यवहार नगर्न आग्रह गरे।

‘लोकतन्त्रको रक्षा हामीले नै गर्छौँ भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्। जनताले जोगाउँछन्,’ उनले भने, ‘तर लोकतन्त्रको नाममा हामीले विधि स्थापना गर्छौँ।’

सरकार ढाल्ने उद्देश्यले आन्दोलन गर्ने चेतावनी नदिन पनि उनले राजनीतिक दलहरूलाई आग्रह गरे। वर्तमान सरकार नढल्ने दाबी दोहोर्‍याउँदै लामिछानेले पटक–पटक सरकार ढल्ने भविष्यवाणी गर्नेहरू नै अन्ततः सरकार नढलेको देखेर ‘बेहोस भएर ढल्न सक्ने’ व्यंग्य गरे।