१५औँ महाधिवेशनबाट पनि गगन थापालाई सभापतिका रूपमा अघि बढाउँछौँ : उपसभापति शर्मा


काठमाडौँ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनबाट पनि गगन थापाकै नेतृत्वलाई निरन्तरता दिने बताएका छन्।

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेसले पुरानो पुस्ताको नेतृत्वबाट नयाँ पुस्ताको नेतृत्वतर्फ अघि बढिसकेको उल्लेख गर्दै थापालाई सभापतिका रूपमा अगाडि बढाउने बताएका हुन्।

‘कांग्रेसलाई ८० वर्षको सभापतिबाट ५० वर्षको सभापतिमा ल्याएका छौँ। विशेष महाधिवेशनबाट ५० वर्षका गगन थापालाई सभापति बनाएका छौँ। अब पनि त्यहीअनुसार अगाडि बढाउँछौँ,’ शर्माले भने।

उनले १५औँ महाधिवेशनलाई कांग्रेसको नयाँ राजनीतिक यात्राको प्रारम्भका रूपमा व्याख्या गरे। महाधिवेशनपछि पार्टी थप बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावना समेटेर अघि बढ्ने उनको दाबी छ।

जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापना भएको कांग्रेसले लोकतन्त्रका लागि गरेको संघर्ष र योगदानलाई नयाँ पुस्तासँग जोडेर अघि बढाउनुपर्ने शर्माको भनाइ छ। विशेष महाधिवेशनपछि थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उनले बताए।

महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रजदेखि सहिद परिवार तथा जेनेजी पुस्तासम्मको सहभागिता रहेको उल्लेख गर्दै शर्माले करिब ३५ हजार प्रतिनिधिमध्ये ठूलो संख्या युवाको रहेको बताए। उनले युवा सहभागितालाई कांग्रेसमा आएको नयाँ ऊर्जाका रूपमा चित्रण गरे।

फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै शर्माले राष्ट्रिय हित र मुलुकलाई सफल बनाउने विषयमा सरकारसँग सहकार्य गर्न कांग्रेस तयार रहेको बताए।

राष्ट्रिय महत्वका विषयमा राजनीतिक दलहरूबीच साझा धारणा आवश्यक रहेकोमा जोड दिँदै उनले जलवायु परिवर्तनका कारण नेपालमा देखिएका असर, मधेस आन्दोलनबाट उठेका सवाल तथा जेनेजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्ने बताए।

देशभित्र र विदेशमा रहेका नेपालीलाई जोड्ने गरी राज्यले नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ। विशेषगरी विदेशमा रहेका नेपालीको नागरिकता, लगानी तथा अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने उनले बताए।

‘नेपाल दुई वटा छ– नेपाल बाहिरको र नेपालभित्रको नेपाल। यी दुवै नेपाललाई जोड्नुपर्छ,’ शर्माले भने, ‘विदेशमा रहेका नेपालीले नेपालको विकासमा लगानी गर्न चाहेका छन्। उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न कांग्रेस तयार छ।’

नयाँ सरकार गठन भए पनि सामाजिक सञ्जालमा एकअर्काप्रति आक्रोश र असन्तुष्टि बढिरहेको भन्दै शर्माले अहिले नेपाली समाजलाई संवाद, सद्भाव र एकताको आवश्यकता रहेको बताए।

उनले भूगोललाई मात्र नभई नेपाली नागरिकको मन र भावनालाई समेत जोडेर अघि बढ्नुपर्नेमा जोड दिए।