काठमाडौँ।
नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँले पार्टी नेतृत्वलाई दृढताका साथ अघि बढ्न आग्रह गरेका छन्। उनले नेतृत्वले कुनै पनि अवस्थामा खुट्टा नकमाई जिम्मेवारीपूर्वक अघि बढे आफूहरू साथ दिन तयार रहेको बताएका हुन्।
काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले विशेष महाधिवेशनका क्रममा नेतृत्वलाई दिएको साथ र समर्थन अहिले पनि निरन्तर रहेको बताए।
उनले विगतमा सुरु गरिएका अभियानलाई निरन्तरता दिन नेतृत्वले स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्नेमा जोड दिए।
‘हिजो पल्ला चौरले जे निर्देशित गरेको थियो, जुन अभियानमा साथ दिएको थियो, आज पनि त्यही अभियानमा साथ दिएको छ,’ बानियाँले भने, ‘तपाईंहरू खुट्टा नकमाई आफ्नो नेतृत्व र जिम्मेवारी लिनुहोला।’
बानियाँले विगतमा कांग्रेसमा अधिवेशनको कुरा उठ्नेबित्तिकै कार्यकर्ताबीच दूरी बढ्ने अवस्था रहे पनि अहिले भने सबैको मन जोडिएको दाबी गरे।
उनका अनुसार सामूहिक प्रयास र सहकार्यकै कारण वडा तहदेखि केन्द्रसम्मका अधिवेशन सम्पन्न भएका छन्।
‘हिजो अधिवेशन भन्नेबित्तिकै हाम्रो मन टाढा हुन्थ्यो। आज सबैको मन जोडेर अधिवेशन भएको छ। सामूहिक प्रयत्नले वडादेखि केन्द्रसम्मको अधिवेशन भएको छ,’ उनले भने।











प्रतिक्रिया