लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई


काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन अलुम्नाईले लठैत र डकैती शैलीमा त्रिवि सभा गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।
त्रिवि ऐन २०४९ ले स्पष्ट रुपमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरुमध्येबाट २ जना त्रिवि सिनेटमा सिनेटर हुने व्यवस्था गरेको अवस्थामा विद्यार्थीसँग प्रत्यक्ष जोडिएको स्ववियुलाई वेवास्ता गरेर गर्ने गर्न लागेको सिनेट बैठकविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
त्रिविले विद्यार्थी, प्राध्यापक र कर्मचारीको सहभागिता नगराईकन सिनेट बैठक गर्दैछ । त्रिवि कार्यकारी परिषद्ले असोज २२ गते सिनेट बैठक गर्ने निर्णय गर्दै सूचना जारी गरेको छ ।


त्रिवि ऐनअनुसार सिनेटमा सिनेटर नियुक्त समेत भई पटकपटक सिनेटमा भाग लिइसकेका स्ववियु सभापतिलाई नबोलाउनु त्रिविको डकैत र लठैत शैली भएको स्ववियु अलुम्नाईको आरोप छ ।

अलुम्नाई अध्यक्ष चाउएनलाइ श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘बालेन सरकारले कथित अध्यादेशबाट स्ववियु हटाए तर अध्यादेश निस्कृय भइसकेको अवस्थामा हाल २०४९ कै ऐन अनुसार सिनेट सञ्चालन हुने अवस्था रहेको छ । अहिले विश्वविद्यालय ऐन नियमअनुसार होइन, बालेन र सस्मितको मौखिक आदेशअनुसार चलेको छ । पदाधिकारीले मुख्य भूमिका निर्वाह गर्ने संघ संगठनलाई नबोलाई गर्न लागेको सिनेट बैठकविरुद्ध सबै एक हुनुपर्ने अवस्था आएको छ ।’

स्वायत्त र सार्वभौम संस्था त्रिभुवन विश्वविद्यालयमा हजारौँ विद्यार्थी र युवाको बलिदानी योगदान र संघर्षले प्राप्त स्वतन्त्र विद्यार्थी युनियनको अस्मितामाथि कडा प्रहार भएको जिकिर गर्दै विज्ञप्तिमा भनिएको छ– ‘यो कदापि सहन सकिँदैन । आफ्नो अस्तित्वको लागि विद्यार्थीहरुले जुनसुकै कदम र आन्दोलन गर्न पछि हट्नु हुँदैन । अविलम्ब त्रिविको उपकुलपति र पदाधिकारीले ऐनको सम्मान गर्दै स्ववियु, प्राध्यापक संघ र कर्मचारी संघको प्रतिनिधिसहितको सिनेट आह्वान गर्नु पर्दछ । विद्यार्थी, प्राध्यापक र कर्मचारी विश्वविद्यालयको अभिन्न अंग हुन् । सबैको सम्मान गरौँ । प्रजातान्त्रिक प्रणालीमा सबैको समान र सहभागी हुन आवश्यक छ । यस्तो लठैत र डकैती शैलीको हामी कडा शब्दमा भत्सना गर्दछौँ ।’

त्रिविका उपकुलपति प्राडा भोला थापाले असोज २२ गते करिब २१ जना त्रिविसभा सदस्यलाई मात्र बोलाएर बैठक गर्ने तयारी गर्नुभएको थियो । त्यसलगत्तै सबै सरोकारवालाले प्रतिवाद गर्ने चेतावनी दिएका छन् । त्रिविको सो निर्णयविरुद्ध सम्भवतः भोलि सोमवार रिट दायर गर्ने तयारी गरेको छ ।

उपकुलपति प्राडा थापाले सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा सिनेट बैठक डाकेको आरोप छ । बैठकमा कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति नहुने निश्चित छ । सिनेट बैठकको अध्यक्षता कुलपतिले गर्ने कानुनी व्यवस्था छ । तर कुलपतिले सहकुलपतिलाई अध्यक्षता गर्न पत्र पठाएको भन्दै त्रिविले सहकुलपतिको अध्यक्षतामा बहुमत पु¥याएर सिनेट बैठक गर्ने तयारी गरेको छ । अहिले २१ जना छन, अब ५ जना मनोनित गरेर २६ जनासहित सिनेट बैठक बस्ने योजना त्रिविको छ ।

सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री पोखरेलको निर्देशनमा त्रिविले रेक्टर, रजिष्टार, ९ वटा संकाय डीन, ४ अनुसन्धान केन्द्र निर्देशक, शिक्षा र अर्थमन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्यलाई मात्र बैठकमा बोलाइएको छ । त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठान तथा नास्टका पदाधिकारीसहित अन्य विश्वविद्यालयका उप–कुलपतिहरूमध्येबाट दुई जना सदस्य रहने व्यवस्था छ । २८ जना सिनेटर नियुक्त हुनै बाँकी छ ।

त्रिविले नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यायक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संघ, त्रिवि कर्मचारी युनियन, प्राध्यापकमध्येबाट ५ जना, दुई जना विद्यार्थी प्रतिनिधि, विज्ञ, एक जना पत्रकार, उद्योगपति र पूर्व उपकुलपतिमध्ये १ जना रहने व्यवस्था छ ।

पछिलोपटक त्रिविसभा २०८२ असार २६ गते बसेको थियो । विश्वविद्यालयलाई नियमानुसार सञ्चालन गर्न र बजेट स्वीकृतिका लागि सिनेट बैठक बस्नुपर्ने हुन्छ । जसका कारण त्रिविको वार्षिक बजेट, दीक्षान्त समारोहका लागि ग्रेस लिस्ट पारितलगायतका कार्य प्रभावित भएका छन् ।
विश्वविद्यालयको वार्षिक बजेट र कार्यक्रम पारित हुन नसक्दा विकास निर्माण तथा दैनिक कार्य सञ्चालनमा बाधा पुगेको छ ।

भने दीर्घकालीन योजना स्वीकृति, नयाँ नियम पारित गर्ने प्रक्रिया र आवश्यकताअनुसार गठन गरिने विशेष समिति तथा आयोगहरूको कामकारबाहीसमेत पूर्णरूपमा ठप्प छ । हाल त्रिविमा ७ हजार ३०३ कर्मचारी र ८ हजार १२२ शिक्षक (अस्थायीसहित) गरी कुल १५ हजार ४२५ जना कार्यरत छन् । त्रिविले करिब २२ अर्बको बजेट पारित गर्ने र दीक्षान्त समारोहको ग्रेसलिष्ट पारित गर्नकै लागि सिनेट बैठक बोलाएको हो ।