दाउन्नेमा बस पल्टदा छ जनाको मृत्यु

282
Shares

मृतक सबैको सनाखत

नवलपरासी ।

नवलपरासी पूर्वको विनयी त्रिवेणी–२ दाउन्ने पहाडस्थित महेन्द्र राजमार्गमा शनिवार विहान यात्रुबस पल्टदा ६ जनाको मृत्यु भएको छ । बस पल्टदा त्यसमा सवार १० यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

प्रहरीका अनुसार बस पल्टेर मृत्यु हुनेमा जाजरकोट भेरीगंगा–३ का निवासी ५० वर्यीय निर्जुङ खत्री, बाँके कोहलपुर–३ का २२ वर्षका दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी रहेका छन् । त्यसै गरी बाँके नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षका कृष कनौजिया, बाजुरा स्वामिकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी र बस चालक बाँके खजुरा–२ का ३६ वर्षीय सुरेश बिसीको मृत्यु भएको छ ।

घाइते १० यात्रुलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा नेपालगन्ज–१६ का ४८ वर्षीय अस्लाम भगवान्को अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस दाउन्नेको ओरालो सडकमा एकाएक पल्टेर दुर्घटनामा परेको थियो ।

बस दुर्घटनाबारे जानकारी पाएलगत्तै इप्रका दुम्किबासबाट खटिएको प्रहरी टोलीले दुर्घटनाग्रस्त बसलाई २ ओटा क्रेन प्रयोग गरी उठाएर यात्रुहरूको उद्धार गरेको थियो ।

दाउन्नेको पहाडको घुमाउरो सडकमा १८ जना यात्रु लिएर ओरालो झर्दै गरेको पुरानो बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको सूचना अधिकारी प्रनाउ अनिल पण्डितले बताउनुभयो ।