काठमाडौं
बंगलादेशका वृत्तचित्र निर्देशक तथा निर्माता नादिम इकबालले नेपालमा हालैको विपद्बाट प्रभावित बालबालिकाको समर्थनमा काठमाडौंमा आफ्ना तीन वृत्तचित्र प्रदर्शन गरेका छन्। नेपाल भाषा मंका खला र आर्ट बुमको आयोजनामा शनिबार आयोजित विशेष कार्यक्रममा इकबालले ‘मदर टङ’, ‘ए फ्रिडम फाइटर फरेभर’ र ‘विद्याभुवन’ प्रदर्शन गरेका हुन्। कार्यक्रम आगामी असोज २० गते त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा पनि आयोजना हुने जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै इकबालले अगस्ट महिनाको विपद्बाट प्रभावित करिब २० हजार बालबालिकालाई समर्पित गर्दै फिल्म प्रदर्शन गरिएको बताए। विपद्ले धेरै बालबालिकाले अभिभावक गुमाएको वा विस्थापित जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै उनले उनीहरूको शिक्षा, संस्कृति र भविष्य जोगाउनु सबैको साझा दायित्व भएको बताए। “बालबालिका हाम्रो भविष्य हुन्। उनीहरूले आज जति कठिनाइ भोगे पनि उनीहरूको आशा, शिक्षा, संस्कृति र सपना हराउन दिनु हुँदैन,” उनले भने। उनले चलचित्र केवल मनोरञ्जनको माध्यम नभई समुदायलाई जोड्ने, स्मृति सुरक्षित राख्ने र आवाजविहीनको आवाज बन्न सक्ने माध्यम भएको धारणा राखे।

इकबालले प्रदर्शन गरिएका तीन फिल्मलाई भाषा, स्वतन्त्रता र शिक्षा का साझा विषयले जोडेको बताए। नेपाल भाषा र नेवार समुदायको समृद्ध सांस्कृतिक सम्पदाप्रति सम्मान व्यक्त गर्दै उनले नेपाल र बंगलादेशका ऐतिहासिक अनुभवबीच भावनात्मक समानता रहेको उल्लेख गरे।उनका अनुसार सन् १९५२ को बंगला भाषा आन्दोलन र त्यसपछि विकसित राष्ट्रिय पहिचान तथा स्वतन्त्रताको संघर्षले बंगलादेशको इतिहास निर्माण गरेको थियो। “भाषा, संस्कृति र पहिचान जोगाउने चाहना विश्वव्यापी मानवीय भावना हो,” उनले भने।
‘ए फ्रिडम फाइटर फरेभर’ फिल्म बंगलादेशको सन् १९७१ को मुक्ति संग्राम र स्वतन्त्रता सेनानीहरूको योगदानमा केन्द्रित रहेको उनले बताए। फिल्मका मुख्य पात्र डा. नुरान नबीको संघर्षमार्फत एउटा पुस्ताको इतिहास बुझ्न सकिने उनको भनाइ थियो।
त्यस्तै, ‘विद्याभुवन’ बंगलादेशको एक ग्रामीण विद्यालयको कथामा आधारित रहेको जानकारी दिँदै उनले भाषा पहिचानको आधार, स्वतन्त्रता सम्मानको आधार र शिक्षा भविष्यको आधार भएको सन्देश दिन तीन फिल्मलाई एउटै मञ्चमा ल्याइएको बताए।
नेपाल भाषा मंका खलाप्रति आभार व्यक्त गर्दै उनले सिनेमाले फरक भाषा र देशका मानिसबीच पुल निर्माण गर्न सक्ने विश्वास व्यक्त गरे। “यी फिल्मले बंगलादेश र नेपाल, बङ्गाली र नेवार संस्कृति तथा हाम्रो साझा आशाबीच सम्बन्धको पुल निर्माण गर्नेछन् भन्ने आशा गरेको छु,” उनले भने।











प्रतिक्रिया