काठमाडौं ।
हवाई उडानमा चराचुरुङ्गी तथा वन्यजन्तुबाट हुने जोखिम नियन्त्रण गर्न सरकारले विमानस्थल वरपर कडा वातावरणीय मापदण्ड प्रस्ताव गरेको छ।
सङ्घीय संसद्मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ मा विमानस्थल र त्यसको तीन किलोमिटर वरिपरि अव्यवस्थित रूपमा वधशाला स्थापना तथा फोहोरमैला थुपार्न रोक लगाउने व्यवस्था गरिएको छ।
विधेयकको दफा १९ मा चराचुरुङ्गी, वन्यजन्तु तथा फोहोरमैला नियन्त्रणसम्बन्धी विशेष व्यवस्था गरिएको छ। फोहोर तथा मासुका अवशेषका कारण चिल, गिद्धलगायतका चराचुरुङ्गी आकर्षित भई विमानसँग ठोक्किने जोखिम बढ्ने भएकाले यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।
उक्त प्रावधान उल्लङ्घन गरेमा दफा ३९ बमोजिम कसुर मानिने र दफा ४० अनुसार प्राधिकरणका प्रबन्ध निर्देशकले कसुरको मात्रा हेरी २० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, एकपटक सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसुर दोहोर्याएमा अघिल्लो जरिवानाको दोब्बर रकम तिराउने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ।











प्रतिक्रिया