कांग्रेस १५औँ महाधिवेशन: सोमबार उम्मेदवारी मनोनयन दर्ता


काठमाडौँ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा मनोनयनपत्र दर्ता गरिनेछ।

निर्धारित समयभित्र केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिले मनोनयनपत्र दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गरिने उल्लेख छ। मनोनयनको मिति तय भएसँगै सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ।