काठमाडौँ।
प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रवार औपचारिक रूपमा समापन भएको छ ।
गत वैशाख २८ गतेदेखि शुरु भई १४५ दिनसम्म चलेको यो अधिवेशनमा ६८ वटा बैठक बसेका छन् । अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदले यस अवधिमा १२ वटा विधेयक पारित गरेको र विपद् व्यवस्थापनसहितका जनसरोकारका विषयमा गम्भीर भूमिका खेलेको जानकारी गराउनुभयो ।
गत वैशाख २८ गते शुरु भएको प्रतिनिधि सभाको दोस्रो अधिवेशन असोज १६ गतेसम्म १४५ दिन जारी रह्यो । यस अवधिमा ६२ दिनमा ६८ पटक बैठक बसेको संसद सचिवालयले जनाएको छ । २७७ घण्टा ३० मिनेटको संसदीय समय व्यतित भएको यो अधिवेशनमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकसमेत गरी कानुन निर्माण र नीतिगत बहसमा संसद केन्द्रित रह्यो ।
विधायकी काम कारबाहीको दृष्टिले यो अधिवेशन फलदायी रह्यो । संसदले आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ र सम्पती शुद्धीकरण निवारण तेस्रो संशोधनलगायतका १२ वटा महत्वपूर्ण विधेयक पारित गरेको छ । जसमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् । यसबाहेक २० वटा विधेयक विभिन्न समितिमा विचाराधीन छन् भने केही थप विधेयकहरू प्रक्रियामा रहेका छन् ।
सदनले नीति तथा कार्यक्रम पारित गर्नुका साथै राजश्व र व्ययको वार्षिक अनुमानमाथि विस्तृत छलफल गरी बजेट कार्यान्वयनको बाटो खोलेको छ । त्यस्तै, विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू सभामा पेश भएका छन् । सरकारका विभिन्न मन्त्रीहरूले प्रश्नोत्तरका क्रममा सांसदहरूले उठाएका जनसरोकारका विषयमा जवाफ दिएका छन् ।
अधिवेशनको महत्वपूर्ण पक्षका रूपमा बाढी–पहिरो प्रभावितहरूको उद्धार र राहतका लागि सरकारलाई दिएको निर्देशन रह्यो । भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति सभाले गहिरो दुःख व्यक्त गर्दै विशेष प्रश्ताव पारित गरेको छ । साथै, जलवायु परिवर्तनको प्रभाव र विपद् व्यवस्थापनका लागि अध्ययन गर्न १५ सदस्यीय विशेष संसदीय समिति गठन गरिएको छ ।











प्रतिक्रिया