नापी कार्यालय कलंकीका सर्वेक्षक श्रेष्ठविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा


काठमाडौं ।

नापी कार्यालय कलंकीका सर्वेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार श्रेष्ठले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३ साउन २७ गतेदेखि २०८१ चैत २९ गतेसम्म आर्जन गरेको सम्पत्ति तथा सो अवधिमा भएको खर्चको अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा श्रेष्ठ र उनका एकाघर परिवारका सदस्यको आय–व्यय परीक्षण गर्दा तलब, भत्ता, जग्गा बिक्रीबाट प्राप्त रकम, छोरीको पारिश्रमिक तथा ऋण सापटीबाट प्राप्त रकमसमेत गरी ७ करोड ७५ लाख ७८ हजार ८४० रुपैयाँ बराबरको वैधानिक आय देखिएको आयोगले जनाएको छ।
तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर तथा सवारी साधन खरिद, छोरीहरूको अध्ययन, कर्मचारी सञ्चय कोष र व्यक्तिगत ऋण भुक्तानीलगायतका शीर्षकमा १२ करोड ५० लाख २५ हजार ६५४ रुपैयाँ खर्च भएको पाइएको छ।

आयोगका अनुसार श्रेष्ठको कुल वैधानिक आयभन्दा खर्च ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ बढी देखिएको छ। सो रकम बराबरको सम्पत्ति तथा खर्चको वैधानिक स्रोत पुष्टि हुन नसकेको भन्दै अख्तियारले भ्रष्टाचारको अभियोग लगाएको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम श्रेष्ठ र उनकी पत्नी कमला श्रेष्ठलाई प्रतिवादी कायम गरी बिगो रकम ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ कायम गरिएको आयोगले जनाएको छ।

उक्त अभियोगमा अख्तियारले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।