एआईआईबीको उप–सभापतिमा निर्वाचित वाग्ले काठमाडौं फर्किए


काठमाडौं ।

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।

कतारको दोहामा सम्पन्न बैठकले वाग्लेलाई सन् २०२६–२७ का लागि एआईआईबीको गभर्नर परिषद्को उप–सभापतिमा निर्वाचित गरेको थियो। क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट नेपाल पहिलोपटक यो पदमा निर्वाचित भएको हो।

बैठकमा वाग्लेले नेपालजस्ता मुलुकको पूर्वाधार विकासका लागि सहुलियतपूर्ण वित्तीय स्रोत बढाउन, निजी लगानी आकर्षित गर्न तथा प्रविधि हस्तान्तरणमा जोड दिएका थिए।

भ्रमणका क्रममा उनले एआईआईबीका अध्यक्षसहित कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग लगानी विस्तार, आर्थिक सहकार्य तथा विपत्तिपछिको पुनर्निर्माणबारे छलफल गरेका थिए।

कतार एयरवेजमार्फत बिहान ८ः४५ बजे काठमाडौं आइपुगेका वाग्लेको भ्रमणले नेपालको पूर्वाधार विकासमा एआईआईबीको लगानी र सहकार्य विस्तार गर्ने अवसर बढाएको जनाइएको छ।