हिमपहिरोबाट जोगिएका ११ जना सम्पर्कमा


काठमाडौं, (नेस) ।

मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोबाट जोगिएका ११ जना परिवारको सम्पर्कमा पुगेका छन् । हिमालयन होलिडेजका सात र इम्याजिन नेपालका चार जना सकुशल सम्पर्कमा आएका हुन् ।

प्रतिकूल मौसमको पूर्वसूचना पाएपछि आधार शिविरको सबैभन्दा तल्लो क्षेत्रमा ओर्लिएका कारण उनीहरू जोगिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । हिमपहिरोपछि फर्किएका उनीहरू आइतबार साँझ नार्पाभूमि गाउँपालिकाको फू गाउँ पुगेका थिए । उनीहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हिमपहिरोमा परेका १२ जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा हिमालयन होलिडेजका १० र इम्याजिन नेपालका दुई जना छन् ।

हिमपहिरोमा परी मृत्यु भएका चार जनाको शव फेला परेको छ । सोमबार घटनास्थल पुगेको उद्धार टोलीले वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको थियो । ती शव मंगलबार चामे ल्याई कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ ।
यसअघि आइतबार छिवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो । दुवै शव सोमबार हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।