नेपालमै अध्ययन गर्दा १५ गुणा कम खर्च

0
Shares

५८ वटा शिक्षण संस्थामा ३७ हजार २०८ विद्यार्थी अध्ययनरत छन् । ती संस्थाले वार्षिक ५० करोड रुपैैयाँ प्रत्यक्ष र मूल्यअभिवृद्धि कर, टीडीएसलगायतका अप्रत्यक्ष करमार्फत १ अर्ब रुपैयाँभन्दा बढी रकम राजस्वमा योगदान गरिरहेका छन् ।

काठमाडौँ ।

नेपालमै अन्तर्राष्ट्रिय विश्वविद्यालयका शैक्षिक कार्यव्रmम सञ्चालन भएपछि विद्यार्थीले विदेशमा भन्दा स्वदेशमा अध्ययन गर्दा करिब १५ गुणा कम खर्च लाग्ने अनुमान छ । इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) ले सो विषय जानकारी गराएको हो । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष लक्ष्मण केसीले सो जानकारी गराउनुभएको हो ।

विदेशमा अध्ययन गर्दा करिब ५० लाख रुपैयाँभन्दा बढी लाग्नसक्छ । सोही शिक्षा नेपालमा आफ्नै घरमा बसेर पढ्दा करिब २५ लाख रुपैयाँमा सकिन्छ । आइप्यानका अध्यक्ष लक्ष्मण केसीले नेपालमै विदेशी विश्वविद्यालयको कोर्स पढ्दा सजिलै रोजगारीको अवसर पाइने दाबी गर्नुभयो । नेपालमै अन्तर्राष्ट्रियस्तरको उच्चशिक्षा उपलब्ध गराउँदा विद्यार्थीलाई विदेश जानुपर्ने बाध्यता कम हुनुका साथै परिवारमाथिको आर्थिक भार घट्ने, स्वदेशमै रोजगारी तथा उद्यमका अवसर सिर्जना हुने र विदेशी मुद्रा बाहिरिने व्रmम न्यूनीकरण गर्न योगदान पुग्ने केसीको भनाइ छ ।

नेपालमा सञ्चालित ५८ वटा कलेजले विदेशी विश्वविद्यालयको कोर्स पढाइरहेका छन् । यस्ता संस्थाहरूले वार्षिक करिब ५०–६० अर्बबराबरको रकम विदेसिनबाट रोक्न योगदान गरिरहेको अनुमान छ । ‘हाम्रा संस्थाहरूबाट अध्ययन पूरा गरेका अधिकांश विद्यार्थीले नेपालमै पेसा, व्यवसाय तथा उद्यम सञ्चालन गरी स्वयं रोजगारी सिर्जना गर्नुका साथै हजारौँ व्यक्तिलाई रोजगारीसमेत गरिरहेको छ’ –आइप्यानको भनाइ छ ।
हाल नेपालमा ७ मुलुकका ३५ विदेशी विश्वविद्यालयका शैक्षिक कार्यव्रmमहरू सञ्चालन छन् । ती कार्यव्रmमले नेपालमा अन्तर्राष्ट्रिय शैक्षिक अभ्यास, गुणस्तर, प्रविधि र ज्ञान भित्र्याउनुका साथै नेपाली विद्यार्थीलाई स्वदेशमै विश्वस्तरीय उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरिरहेको अध्यक्ष केसीको भनाइ छ ।

५८ वटा शिक्षण संस्थामा ३७ हजार २०८ विद्यार्थी अध्ययनरत छन् । ती संस्थाले वार्षिक ५० करोड रुपैयाँँ प्रत्यक्ष र मूल्यअभिवृद्धि कर, टीडीएसलगायतका अप्रत्यक्ष करमार्फत १ अर्ब रुपैयाँँभन्दा बढी रकम राजस्वमा योगदान गरिरहेका छन् ।

सूचना प्रविधि (आईटी), व्यवस्थापन, हस्पिटालिटी, फेसन डिजाइन र इन्टेरियर डिजाइन उद्योगको विकास तथा विस्तारमा एवं नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप इकोसिस्टम निर्माणमा यस क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । तैपनि वैदेशिक अध्ययनतर्फ बढ्दो विद्यार्थी आकर्षणका कारण नेपाली युवा विद्यार्थी नेपालको शैक्षिकक्षेत्रमा टिकाइराख्न समस्या देखिएको अध्यक्ष केसी बताउनुहुन्छ । शिक्षा मन्त्रालय र नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२÷८३ को ११ महिनामा १ खर्ब ५५ अर्ब ३१ करोड रुपैयाँँ अध्ययनका लागि बाहिरिएको छ ।
यो तथ्याङ्कले युवाको स्वदेशमा बस्ने अवस्था न्यून देखिन्छ । नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा उत्कृट शिक्षण संस्था रहेकै अवस्थामा विद्यार्थीलाई विदेशिने मोहले छाडेको छैन । तथ्याङ्कअनुसार आव २०८०÷८१ मा १ लाख १२ हजार ५९३ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिँदा नेपालबाट अध्ययनका लागि १ खर्ब २४ अर्ब ९५ करोड रुपैयाँँ बाहिरिएको थियो ।

आव २०८१÷८२ मा विदेशिने विद्यार्थीको सङ्ख्या १ लाख २३ हजार ५८९ पुगेको थियो । सोही अवधिमा अध्ययन प्रयोजनका लागि नेपालबाट १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँँ बाहिरिएको थियो । अध्यागमन विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२÷८३ मा अध्ययनका लागि विदेशिनेको सङ्ख्या १ लाख ३३ हजार ८७० रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार अध्ययन भिसामा विदेसिनेमध्ये ७९ प्रतिशत व्यक्ति नेपाल फर्कंदैनन् । फर्किएका मध्ये पनि ३० प्रतिशत एक वर्षभित्र पुनः विदेशिन्छन् ।

यी तथ्यहरूले नेपालमै गुणस्तरीय तथा विश्वस्तरीय उच्च शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष केसीको भनाइ छ । विगत पाँच वर्षको तथ्याङ्कअनुसार नेपालबाट वार्षिक औसतमा करिब १५ लाख नेपाली रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि विदेश जाने गरेका छन् ।

विदेशिनेमध्ये करिब ७० प्रतिशत हिस्सा ४० वर्षमुनिका युवाको रहेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालको जनसाङ्ख्यिक संरचना, श्रमशक्ति, उत्पादनशीलता तथा समग्र आर्थिक गतिविधिमा परिरहेको छ ।

उहाँका अनुसार नेपालमै उत्कृट शिक्षा हुँदाहुँदै विदेश पलायन हुनु सरकारको गलत नीति हो । नेपालमै विदेशी विश्वविद्यालयको शिक्षा उपलब्ध हुँदै गर्दा विदेश पढ्ले मोहमा युवा विद्यार्थी विदेश पलायन हुने गरेका छन् । हरेक वर्ष नयाँ योजना ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । स्वदेशमै गुणस्तरीय, प्रतिस्पर्धी र अन्तर्राष्ट्रियस्तरको उच्चशिक्षा उपलब्ध गराउँदै युवाका लागि रोजगारी र उद्यमको वातावरण पनि बलियो बनाउनुर्पे अवस्थामा अर्बौैैैं रुपैयाँ विदेशिनु नेपालको शिक्षाको लागि नराम्रो विषय भएको आइप्यानका अध्यक्ष केसीको भनाइ छ ।

यसैबीच नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको पढाइ राम्रो नभएको भनी भ्रामक प्रचार गरिरहेको अवस्थामा आइप्यानले आफ्नो धारणा राख्दै स्वदेशमा विदेशी विश्वविद्यालय आबद्ध कलेजको पढाइ उत्कृष्ट रहेको दाबी गरेको छ । हिजो राजधानीमा विदेशी सम्बन्धनप्राप्त कलेजको विषयमा नकारात्मक टिप्पणीबारे यथार्थ जानकारी दिँदै अध्यक्ष केसीले भन्नुभयो–‘हामी कानुनबमोजिम सञ्चालन छौँ । सरकारलाई सबै जानकारी छ । यस्ता विषयमा बहस गर्नु आवश्यक छैन ।’

विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ५८ कलेज सञ्चालित छन् । सबैले नेपालमै विदेशी शिक्षा पढ्ने वातावरण तयार पारेका छन् । नेपालको आर्थिक सुधारका लागि विदेशी विश्वविद्यालयसँग सम्बन्धन पाएका कलेजले मुख्य योगदान गरेको छ । नयाँ नियमावलीले सम्बन्धन प्राप्त संस्थालाई तीन वर्षभित्र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । विदेशी विश्वविद्यालयलाई बुझाउनुपर्ने शुल्क मन्त्रालयको स्वीकृति र सिफारिसका आधारमा बैंकिङ प्रणालीमार्फत भुक्तानी हुने र त्यसको विवरण मन्त्रालयमा पेस गरिने उहाँको भनाइ थियो ।

उहाँले विदेशी विश्वविद्यालयबाट सम्बन्धन पाएका कलेजले सन् २०२५ मा झन्डै १ खर्ब ४५ अर्ब रुपैयाँ नजिक सूचनाप्रविधि निर्यात गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यो वृद्धि पछिल्लो समय अध्ययन पूरा गरेका नेपाली आईटी विद्यार्थी, आईटी कम्पनी र निजी क्षेत्रको पहलबाट सम्भव भएको हो ।