भोटेकोशीको बाढीः जाने त गए बाँच्नेहरूको मन अझै पनि बाँचेको छैन 

0
Shares

गत भदौ १० गते भोटेकोशीको महाप्रलयकारी सुनामी बाढीले १६ बर्षिय रञ्जिता थापाका बुवा आमासहित सात जना परिवारलाई एकै चिहान बनाएपछि उनी अहिले एक्लो जीवन बिछिप्त अवस्थामा  छिन् । उत्तरगया पब्लिक माविमा बिहानको ट्युसन  कलास सकेर कक्षा कोठामा जाने क्रममा रञ्जिताले बिद्यालयको गेटमा पुग्ना साथ भोटेकोशीको बाढीको मुस्लो देखिन  । अनि उनी फनक्क फर्केर जंगलतिर उकालो लागिन । रसुवाको बेत्रावती सेयाली जंगलमा पुग्दा नपुग्दै उनका बुवा, आमा हजुरुबुवा, हजुर आमा र दाजु समेतलाई बाढीले घरसहित बगाइसकेको  थियो । रञ्जिता पांच मिनेट भित्र सिस्नो समाउदै सुरक्षित स्थानमा पुगेर तलतिर हेर्दा  आफनो प्यारो परिवारसहित सबै घरवार थिएन । बुवा आमा रहनुभएको घरमाथि बाढी उर्लिरहेको देख्न साथ रञ्जिता आफूलाई थाम्न नसकेर त्यही ढलिन्  । बुवा श्याम थापाले बिहान खाजा खान दिएको पैसा, आमा जमुना रानाले कतै नभुली कक्षा सकिन साथ आए है  आज तिमी र म एक ठाउं जानु छ भनेको कुरा र हजुर आमाले स्कुलबाट  फर्किनासाथ मेरो काला आयो के खाजा खान्छिउ भन्ने गरेको कुरा सम्झिँदै आज पनि उनका आंखावाट बर्बर्ती आँशु  खस्छन ।  एक जना दाजु नीराजन थापा बाहिर क्रोएसिया छन् उनले बहिनीलाई निरन्तर फोन गरेर सम्झाउने त गर्छन् तर परिवारकी सबै भन्दा कान्छी सदस्य रञ्जितालाई अहिले पनि हजुर आमाले काखमा राखेर ख्वाउन पाए खुशी हुने कुराले सम्झाइरहने गरेको छ । 

 काखमा राखेको आमाले तरकारी किन्न जाँदा पनि सँगै लैजाने जस्ता धेरै कुरा सपनामा देख्ने गरेकी रञ्जितालाई राम्ररी निद्रा पनि लाग्ने गरेको छैन । भोटेकोशीको बाढीले आफ्नो  परिवार बगाएपछि ठुला वुवा डोलवहादुर थापाको घरमा बस्दै  आएकी रञ्जितालाई केही सोध्यो कि भक्कानिएर रुन थाल्छिन् –ठुलो वुवा ठूलो मामीकी छोरी बविसा थापा बहिनी रञ्जिताको भविष्य के  हुने हो  भन्नै सकिएको छैन जति सम्झाएपनि बुवा आमा हजुर वुवा , हजुर आमाले माया गर्दा भन्ने गरेका कुरा सम्झिँदै भक्कानिने गरेको सुनाउँछिन् । एनआरएनए युकेका अध्यक्ष प्रेमगाहा मगरले बाढी प्रभावितलाई  प्रधानमन्त्री राहत कोषमा पठाए कहाँ जान्छ टुंगो हुँदैन त्यसैले बाढी पीडितहरुको हातमा नै प्रति व्यक्ति १० हजार रुपियाँ र जाडोको लागि न्यानो कपडा लिएर नुवाकोट पुगेको बेला दिदी बबिसा थापासंग  सहयोग लिन  नुवाकोटको गंगटेपार्क पुगेकी रञ्जिताले रुदै प्रश्न गरिन– अब मैले आफूलाई कसरी सम्हालूँ ?मेरो प्यारो परिवारसंगै –आफू पनि गएको भए त हुन्थ्यो नि भन्ने हुन्छ ।  बाढीले  परिवार  वगाएको एक महिना भइसक्यो तर यो समय कसरी बित्यो मलाई नै थाहा छैन ।  उत्तरगया माविमा पढ्दै थिएं आज न त्यो स्कुल  छ न पढाइ छ  भविष्य नै कसरी बित्ने भन्ने टुंगो छैन के पाप गरेकी थिए र आज मैले यस्तो भाग्नुप¥यो , के गल्ती गर्नुभएको थियो र आज मेरो परिवार रहनुभएन । मेरो घरसहित छिमेकी सबैको घर बगरमा परिणत भएको छ आज  ती हाम्रा लागि दरवार सरी रहेका घरहरुमा त्रिशूली बगिरहेको छ मेरा साथीहरु कहाँ छन् , कतिलाई बाढीले बगायो त्यो पनि थाहा छैन । अब म कसरी बांचु ? भन्दै रञ्जिता थचक्क बस्छिन् र आशुका धारा धाम्नै सक्दिनन् अनि हामीले धेरै सोध्न पनि खोजेनौ । उनको कालो धब्बा लागेको छ उनलाई देख्ने जो कसैले उनलाई देख्न साथ थाहा हुन्छ निकै पीडामा बाँचेकी छन् तर कसरी बाँचेकी छिन उनी आफै भन्न सक्दिनन् ।

 रञ्जिता जस्तै थुप्रै रञ्जिताहरुको आंखाको भेल रोकिएको छैन । रञ्जिताको वुवाको शव धेरै दिनपछि भेटियो तर अन्य परिवारको शव पनि  नभेटिएपछि बाढीले बगाएको एक महिना पछि मात्रै काजक्रिया  प्रारम्भ गर्दा त्यहाँ पुग्नेहरु सबै भावबिह्वल हुन्छन । एनआरएनए युकेका अध्यक्ष प्रेमगाहा मगरले नमुना शैलीमा राहत लिएर जाँदै गर्दा र एक महिना पछिको बाढीको  सम्झना पीडितहरुमा झनपछि झन ताजै जस्तो जस्तो देखिने गरेको छ  । भोटेकोशीको महाप्रलयकारी बाढीले गर्दा नागरिकहरु करीब १२ देखि २० हजारसम्म हराएको हुन सक्ने अनुमान छ तर यकिन तथ्यांक कसैसँग पनि छैन किनकि सम्पूर्ण बजार , गाउँ नै बगरमा परिणत भएको छ । अब शव भेटिने अबस्था रहेन भन्ने भएपछि सामूहिक रुपमा काजक्रिया गर्न थालिएको छ । रसुवा बेत्रावतीका पवित्रा तामाङ र सीता तामाङ दुवै कमाउन दुबई गएका थिए तर उनी दुबैका श्रीमान् छोरा छोरी सासू सुसुरा सहित घर जमिन बाढीले कहाँ पु¥यायो उनीहरुलाई पनि थाहा छैन । बाढीले घरपरिवार लगेको थाहा पाउना साथ स्वदेश फर्किए एक महिना कि त सास कि त लास भेटिन्छ कि भनेर खोजीमा लागे जब नभेटेपछि उनीहरुले पनि सबैको काज क्रिया गरे । छोरा छोरीलाई राम्रोसंग पढाउन सकियोस भन्ने उदेश्यले सात महिना अगाडि रिनधन गरेर दुबई गैयो आज   छोराछोरीलाई देख्न पनि पाइएन । अहिले  सीता र पवित्रा पनि नुवाकोटको पिपलटार पोष्टबहादुर पार्क नजिकको होल्डिङङसेण्टरको पालमुनी एक्लो जीवन बिताइरहेका छन् । उनीहरु भन्छन––एक महिना भइसक्यो न निद्रा लाग्छ न खान मन लाग्छ जतिखेर पनि ती फूलका थुंगा जस्ता छोराछोरीको सम्झना आइरहन्छ । बाहिर भएपनि बावाले  मोबाइलबाट कुरा गर्दा मामू कहिले आउनुहुन्छ हामीलाई के ल्याइदिनुहुन्छ भन्ने गरेको सम्झनाले उनीहरुलाई थप पीडा दिइरहेको छ  । हामीलाई छोडेर विदेश नजानु न भनी हिडने वेला छोराछोरी काखमा बसेर कपडा समाउदा तिमीहरुलाई कति धेरै मीठो मीठो कुरा ल्याइदिन्छु नि भन्दै फकाएर हिडेको सात महिना नबित्दै  छोरा छोरी गुमाउनुप¥यो नि भन्दै सीता बोल्नै नसकी आशुंको भेलसंगै रातो नीलो अनुहार बनाएर ढल्छिन् । कसैले छोरा छोरी गुमाएका छन् , कसैले वुवा आमा , श्रीमती , श्रीमान् गुमाएका छन् त कसैको वंश नै नाश हुने गरी सम्पूर्ण परिवार गुमाएको छ ।

नुवाकोटको पिपलटार होल्डिङङसेण्टरमा रहेका अजय तामाङले श्रीमती सहित तीन, पाँच र आठ वर्षका छोराछोरी  गुमाएका छन् । उनका साथमा अहिले स्कुल गएर फर्किदै गरेको हुनाले बाँचेका साना  नानी बाबु मात्र छन् । सासू भान्जा भान्जी काकाकाकी सहित  अजयका नजिकका ३२ जना परिवार र घरवास सबै बाढीले केही छैन । ०७२ सालमा भूकम्पले ध्वस्त पारेपछि जन्म स्थान गोगने तिरुवाट बेत्रावती  निस्कनुप¥यो भने अहिले बेत्रावतीमा खोला हिँडेपछि हामी नुवाकोटको पिपलटार पोष्टबहादुरवोगटी पार्कसंगैको होल्डिङङसेण्टरको पालमुनीको बसाइ भएको छ । अजय भन्छन्–प्रकृति पनि  कति निर्दयी सारा नेपालीलाई रुवाएर घरबार विहीन बनाउने ? सम्पन्न परिवार आज राहत वांडन आएका छन् रे  भन्दा कुद्दै जानुपर्ने अवस्था । मेरो त अनेक पीडाकावीच पनि यहाँको होल्डिङ सेण्टरमा कस्लाई के छ समस्या के गर्नुपर्छ भनी संयोजनकारी भूमिका निर्वाह गर्दा समय बितेको छ तर आमा नभएपछि ती नानी बाबुलाई बढी गाह्रो हुँदो रहेछ जतिखेर पनि मामु आउनु हुन्न र ? मामुलाई खोलाले कहाँ लग्यो र ? खोज्न जानु न कतै  हामीलाई कतिखेर लिन आउँछन् भनेर अडकेर बस्नुभएको छ कि भनेर सोध्छन् अनि म सहन सक्तिन राति भएपनि बाथ रुम गएर आउँछु है निस्कन्छु । होल्डिङङसेण्टरमा बाहिर अस्थायी ट्वाइलेट छ । त्यहाँ पनि कहिलेकाहीँ लाइन बस्नुपर्छ । पिपलटारको होल्डिङङसेण्टरमा ४४ परिवारका १ सय ४८ सदस्य छन् । जसमध्ये ५२ जना बालवालिका छन् । कतिपय बालबालिका आमाबुवा कोही पनि नभएका पनि छन् तिनीहरुलाई सम्हाल्न ज्यादै  गाह्रो छ । घर आंगनमा खेल्ने गरेका बच्चाहरु ज्ांंगलमा टांगिएका पालमुनी खुम्चिनु परेको छ । युनिसेफले पानी नछिर्ने खालको पाल दिएको छ आइओएमले स्वास्थ्य जस्ता बिषय हेर्ने गरेको छ भने  विभिन्न सामाजिक संस्थाले लत्ता कपडा खानेकुरा दिएका छन् ।  तर  टन्न सम्पत्ति भएका , छोराछोरीले घरमा आउँदा केही खानेकुरा ल्याइदिनु है भन्दा ल्याइदिने मात्र होइन समय समयमा बाहिर खान ख्वाउने गरेका परिवारसँग आज एक रुपियाँ पनि गोजीमा छैन । तर  एनआरएनए युकेका अध्यक्ष प्रेमगाहा मगरले नेपाल मगरसंघको संयोजनमा प्रति ब्याक्ति १० हजार नगद सहित न्यानो कपडा लिएर जाँदा  नुवाकोटको गंगटे र पिपलटार होल्डिङङसेण्टरका बाढी पीडितहरु  निकै खुशी भएका थिए । बाढी गएपछि  पहिलो  पटक हातमा नगद प¥यो भन्दै  कतिपयले बाबु नानीलाई आइसक्रिम ल्याएर ख्वाएका थिए । युकेका नेपालीहरुले एक छाक कटाएर दिएको पैसा प्रधानमन्त्री राहतकोषमा जम्मा गरेर उनीहरुको हातमा कहिले पर्छ वा पर्देपर्दैन भन्ने लागेरै आफै  विभिन्न होल्डिङङसेण्टरमा पुगेर  नगद र ज्याकेट दिएको अध्यक्ष गाहामगरले  स्पष्ट पारे ।

 बाढी पीडितहरु जति खुशी भए त्यति मेरो मन भारी भएको  थियो  । आखिर गर्नुपर्ने त यहि रहेछ । पहिलो पटक नगद पाएका पीडितहरुको खुशीले आफू र सिंगो  एनआरएनए युके परिवारले राम्रो निर्णय गरेको अनुभूति गरेको अध्यक्ष गाहामगरले बताएका छन् ।  उनी भन्छन्––विभिन्न देश र नेपालकै संघसंस्था वा व्यक्तिले बाढी पीडितका लागि १५ अर्ब भन्दा बढी सहयोग गरेको तर पीडितले के  पाए त ? अधिकांश रकम हेलिकप्टरमा खर्च भएको सुन्दा दुख लागेको छ । त्यसैले सहयोग गर्नेले सोझै  पीडित परिवारलाई दिनु उपयुक्त हुन्छ ।  अजय तामाङ, गणेश नेपाली , लीलानाथ घिमिरे, शंकर चित्रकार , चरिमाया थापा, पत्री तामाङले प्रेमगाहा मगर सहितका सहयोगी मनहरु महान हुन उहांहरुलाई भगवानले सधै सुखी बनाउन् भन्दै आशिष दिएका थिए । जुनवेला उनीहरु खुशीले  निकै भावुक पनि भएका थिए । उनीहरु भन्दै थिए– एक महिना पाँच दिनमा अनुहारमा खुशी जस्तो छाएको आजै हो ।

६५ बर्षिया हिरा तामाङका पनि तीन वटै छोराछोरी र श्रीमतीलाई बाढीले कहाँ पु¥यायो थाहा छैन । एक महिना सम्म खोजी गर्दा एक जना छोरीको झोलाको डोरी बगरमा थोरै देखिए जस्तो पाएपछि खोस्रँदा झोला सबै च्यातिएको तर पलास्टिकको  डब्वामा बिहान आफूले  राखिदिएको खाजा भेटिएको सम्झिँदै हिरा भन्छन् – म त त्यहीँ बेहोस भएछु न छोरीले  खाजा पनि  खान नपाई ज्यान गुमाइन अनि कसरी आफूलाई सम्हाल्ने ? कसरी बांच्ने ? अबको जिन्दगी कस्तो हुने  ? अनेक प्रश्न हिराको जस्तै बाढीबाट बांचेकाहरु सबैको छ ।  होल्डिङङसेण्टरमा हुनेहरुले कहिले सम्म यहाँ बस्ने ? सरकारले आफ्नै जिल्लाको कुनै स्थानमा  बस्ने खाने व्यवस्था चाँडो गरिदिएमा आफूहरुलाई पनि केही राहत हुने र राज्यलाई  पनि हल्का हुने एवं बच्चाहरुलाई पढाउन पाइने थियो भन्ने गर्छन्  । अहिले  बच्चाहरु स्कुल जान पाएका छैनन् । केवल उनीहरु मोवाइलमा भुल्ने गरेका छन् त्यो अवस्था कहिले सम्म  हुने ? स्वभाबिक प्रश्न उनीहरुको छ । राज्य , स्थानीय सरकार सबै मिलेर बाढीपीडितहरुका लागि उचित वास र स्वास्थ्य, शिक्षासँगै केही पनि नभएकालाई आवश्यक व्यवस्था गर्न धेरै ढिलाइ गर्नुहुँदैन । जति ढिलाइ भयो त्यति उनीहरुमा मानसिक असर पनि पर्छ । रसुवा , नुवाकोट, धादिङमा भोटेकोशीको बाढीमा पर्नेहरु ती जिल्लाका मात्र नभएर अन्य जिल्लाका छन् ।

 कोशी प्रदेशका १७२, मधेशका १५५,बागमतीका २९२१,गण्डकीका १७१,लुम्बिनीका २४५,कर्णालीका १७५,सुदुरपश्चिमका ९७,उपत्यकाका  ९७, नेपाली सेना४५,नेपाल प्रहरी २५,सशस्त्र प्रहरी १२, कर्मचारी ७९ पर्यटक ५८७ गरी ५ हजार ५ सय ४० जना बेपत्ता भएको भनिएको छ । रसुवा, नुवाकोट धादिङका १५ हजार बढी छन् । रसुवामा ७९९जना होल्डिङङसेण्टरमा छन् भने नुवाकोटमा ११०७ जना, धादिङका १२१ जना छन् । आफन्त भएकाहरु आफन्तकोमा गएर बसेका छन् । बाचेका मध्ये ४ सय परिवारका कोही न  कोही सदस्य गुमाएका छन् भने  ५० भन्दा बढी परिवार सम्पूर्ण  रुपमा गएको छ । जसको खोजी गर्ने पनि कोही छैन । १४५३ जनाको शव भेटिएको छ भने ११२ जनाको मात्र सनाखत भएको छ । १३३४ जनाको शव खाल्टोमा व्यवस्थापन गरिएको छ ।सात जनाको शव अहिले पनि अस्पतालमा रहेको छ । बिद्यालय छैनन्, पुल छैनन् , बजार ध्वस्त छ नागरिकहरुको मन भाँचिएको छ बाचेहहरुले बांचेको अनुभुति गर्न सकेका छैनन् । पुलहरु बगाएको कारण किसानहरुले फलाएको तरकारी, फलफूल , दूध दही बजार पु¥याउन नपाउदा खेर गैरहेको छ । बाढीले पुरेका घर भित्र छिरेर महत्वपुर्ण सामग्री भेटाउन सकिन्छ भनेर आधा परिएका घर खनखोरस गर्नेहरुको संख्या पनि नुवाकोटको देवीघाटमा निकै देखिन्छ   रसुवामा त त्यो पनि छैन किनकि रसुवामा घर भएका ठाउँहरू कि त बगर छ कि त खाला बगेको  छ ।  अत्याबश्यक काम हुनेहरु  तुइनमा जोखिम मोलेर पनि घण्टौँ लाइन लागेर विदुर बजार वारी पारी गर्ने गरेका छन् । यो कठिन अवस्थालाई सबै मिलेर न्यून गर्दे जानुपर्ने खाँचो छ  । यो  बिपदको घडीमा सबैले आआफ्नो स्थानबाट जिम्मेवारी निर्वाह गर्नुपर्छ भने  राज्यले दातृनिकायसंग सहयोगको हात अझै  बढाउनुपर्छ अन्यथा राज्यको बजेटबाट मात्र केही पनि पूर्णता  हुने छैन । यस्तो बेलामा बेथिति , भ्रष्टाचार र  मौकाको फाइदा कसैले उठाउन खाजे त्यो भन्दा  आम नागरिक र राज्य प्रतिको अपराध केही हुने छैन । 


बाढी प्रभावित क्षेत्रको स्थलगत रिपोर्ट