कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने शक्ति केन्द्रको हमला रोक्न भूमिका खेल्छु : विद्यादेवी भण्डारी

0
Shares

बुटवल। 

नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले नेपालमा कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न विभिन्न शक्ति केन्द्रहरू लागेको बताउँदै कम्युनिस्ट पार्टीमा भइरहेको चौतर्फी हमला रोक्न आफूले सक्दो भूमिका निर्वाह गर्ने बताउनु भएको छ । पार्टीले वरिष्ठ नेतामा मनोनीत गरेपछि पहिलो पटक राजनीतिक कार्यक्रममा सहभागी हुँदै मंगलबार एमाले रूपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा भण्डारीले पार्टीभित्र भएका कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने समेत अहिलेको आवश्यकता भएको बताउनु भयो । 

राष्ट्रिय राजनीतिमा एमालेले निभाउँदै आएको भूमिकाप्रति ठेस लागेको बताउँदै उहाँले अब पार्टीको आन्तरिक राजनीतिक जीवनमा सुधार आवश्यक रहेको बताउनु भयो । भण्डारीले पार्टीमा युवा पुस्ताको उपस्थितिमा कमी देखिएकाले अब त्यसको परिपूर्ति गरिनुपर्ने बताउनु भयो । नेपालको वामपन्थी आन्दोलन र पार्टी राजनीतिलाई बलियो बनाउन फेरि राजनीतिमा फर्किएको उहाँको भनाइ थियो ।

उहाँले एउटै निर्वाचनको परिणामबाट शिथिल नहुन पार्टीका नेता कार्यकर्तालाई आग्रह पनि  गर्नु भएको छ । राजनीतिक आन्दोलनमा अनेक उतार चढाव आइरहने बताउँदै भण्डारीले गत निर्वाचनको परिणामले पार्टीको आन्तरिक जीवनमा असर गरे पनि कमजोर मनस्थिति बनाउन आवश्यक नभएको सुनाउनु भयो ।

 कार्यक्रममा एमाले सचिव छविलाल विश्वकर्माले विद्या भण्डारी पार्टी राजनीतिमा फर्किनु पार्टी र सिङ्गो कम्युनिस्ट आन्दोलनको लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनु भयो । कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले केन्द्रीय तहबाट पार्टीमा सुदृढीकरण नभएसम्म पार्टी फेरि पुरानै शक्तिमा फर्किन नसक्ने दाबी गर्नु भयो ।  यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा स्वागत गर्नुभएको छ।

मदन भण्डारी फाउन्डेसनको आयोजनामा बुटवलमा सुरु भएको दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ उद्घाटनका लागि बुटवल आउनुभएकी भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गर्नुभएको हो । एमालेले भण्डारीलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि उहाँ पहिलो पटक रुपन्देही आउनुभएको हो ।