२९ वर्षदेखि फरार लागूऔषध मुद्दाका प्रतिवादी पक्राउ


स्याङ्जा ।

लागूऔषध (चरेस) मुद्दामा ६ महिना कैद सजाय तोकिएका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा साबिक स्याङ्जाको चण्डीभञ्ज्याङ गाविस–७ घर भई हाल पाल्पाको तानसेन नगरपालिका–६ बस्ने नारायणप्रसाद श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार २०५४ कात्तिक १९ गते पाल्पा प्रहरीले गोप्य सूचनाका आधारमा श्रेष्ठको घरकोठामा खानतलासी गर्दा एक किलो २५० ग्राम चरेस बरामद गरेको थियो। त्यसपछि उनीविरुद्ध प्रहरी प्रतिवेदनका आधारमा लागूऔषध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो।

प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको कमान्डमा खटिएको टोलीले श्रेष्ठलाई असोज १० गते पाल्पाको तानसेन नगरपालिका–६ स्थित बसपार्कबाट पक्राउ गरेको हो।

मुद्दाको सुनुवाइका क्रममा २०५६ असार ३० गते पाल्पा जिल्ला अदालतले श्रेष्ठलाई सफाइ दिएको थियो। उक्त फैसलाविरुद्ध पुनरावेदन परेपछि २०५७ असार १ गते पुनरावेदन अदालत बुटवलले उनलाई ६ महिना कैद सजाय हुने फैसला गरेको थियो।

प्रहरी हिरासतमा बिताएको समय कटाउँदा श्रेष्ठले अझै चार महिना २२ दिन कैद भुक्तान गर्न बाँकी रहेको स्याङ्जा जिल्ला अदालतको अभिलेखमा उल्लेख छ।
फरार प्रतिवादीको खोजी गर्ने क्रममा वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको कमान्डमा खटिएको टोलीले श्रेष्ठलाई २०८३ असोज १० गते पाल्पाको तानसेन नगरपालिका–६ स्थित बसपार्कबाट पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठलाई कैद सजाय भुक्तानका लागि असोज १२ गते स्याङ्जा जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।