परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको ८१औं महासभामा सहभागी भई अमेरिकाको न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान


काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर मंगलबार अमेरिकाको न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान गर्नुभएको छ। परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूसहित न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै काठमाडौंका लागि प्रस्थान गर्नुभएको हो।

परराष्ट्रमन्त्री खनाललाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, न्युयोर्कका लागि नेपालका महावाणिज्यदूत दधिराम भण्डारी तथा नेपाली नियोगका अधिकारीहरूले विमानस्थलमा बिदाइ गर्नुभएको थियो। परराष्ट्रमन्त्री खनाल बुधबार बिहान काठमाडौं आइपुग्ने तालिका रहेकाे छ ।

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विभिन्न उच्चस्तरीय बैठक, द्विपक्षीय भेटवार्ता तथा अन्तर्राष्ट्रिय मञ्चका कार्यक्रममा सहभागी हुन न्युयोर्क पुग्नुभएको थियो।