बागलुङमा बाढीपहिरोको कहर : मृतकको सङ्ख्या १२ पुग्यो, एक जना अझै बेपत्ता

फाइल फोटो

बागलुङ ।

बागलुङमा पछिल्लो तीन दिनयता आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । विपद्मा परी एक जना अझै बेपत्ता छन् । जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा मानवीय क्षति भएको हो । पछिल्लो घटनामा ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन् । पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए । यसअघि शनिबार ताराखोलामा एक जनाको मृत्यु भएको थियो ।

आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका थिए । यस्तै, निसीखोला गाउँपालिकामा पहिरोमा परी पाँच जनाको मृत्यु भएको थियो । अविरल वर्षापछि आएको बाढीपहिरोले जिल्लाका विभिन्न स्थानमा जनधनको क्षति पुर्‍याएको छ ।