प्रेम र शारीरिक सम्बन्धको प्रलोभनमा ‘हनिट्र्याप’, रकम र सामान असुलेको आरोपमा युवती पक्राउ


काठमाडौं ।

प्रेम तथा शारीरिक सम्बन्धको प्रलोभन देखाएर एक पुरुषलाई ‘हनिट्र्याप’मा पारी रकम तथा जिन्सी सामान असुलेको आरोपमा प्रहरीले ३० वर्षीया युवतीलाई पक्राउ गरेको छ।

रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई काठमाडौंमा बस्दै आएकी उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले काठमाडौंको सुकेधारास्थित निवासबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार ती युवतीले बाँकेको बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय पुरुषलाई पूर्वयोजनाअनुसार प्रेमसम्बन्ध र शारीरिक सम्बन्धको जालमा पारेकी थिइन्। त्यसपछि विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, धम्की र दबाब दिएर पटक–पटक रकम तथा अन्य सामान लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले घटनालाई ‘हनिट्र्याप’मार्फत आपराधिक लाभ लिएको कसुरका रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ।

केही समयदेखि फरार रहेकी ती युवतीलाई असोज ५ गते काठमाडौं महानगरपालिका–१० सुकेधारास्थित कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

पक्राउ परेकी युवतीमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनामा अन्य व्यक्तिको संलग्नता रहे/नरहेको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

‘हनिट्र्याप’का घटनामा प्रेम, सम्बन्ध वा यौनसम्बन्धको प्रलोभन प्रयोग गरी पीडितलाई नियन्त्रणमा लिएर धम्की, ब्ल्याकमेल वा आर्थिक लाभ लिने शैली देखिने गरेको छ। नेपालमा पछिल्ला वर्षहरूमा यस्ता प्रकृतिका घटनाहरू सार्वजनिक हुँदै आएका छन्।