ललितपुर ।
विकासका लागि पठन संस्कृतिको ९ औँ संवाद श्रृखला सम्पन्न भएको छ ।
तथ्यपार्टी डट कम तथा जेबी फाउण्डेशनको आयोजना तथा ललितपुर महानगरपालिका वडा नं ६ को सहकार्यमा सोमबार आयोजित ‘विकासका लागि पठन संस्कृति संवाद’ कार्यक्रममा उपस्थित वक्ताले शिक्षाको महत्वबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा तथ्यपार्टी डट कमका सल्लाहकार इश्वराज ढकालले पठन संस्कृति विकासका कारण मानिस सक्षम, सोच्न सक्ने, धैर्यवान आदि रुपमा पाउन सकिने भनाइ राख्नुभयो ।
उहाँले भन्नुभयो, “विश्वका धेरै देशमा हाल पठन संस्कृतिको सुरुवात भएको छ । हाल उत्कृष्ठ पठन संस्कृति विकास भएको देशमा फिन्लयाण्ड अघि देखिएको छ । आज यो देश सबैभन्दा खुशी र सुशी रहनुका कारण यो देशमा ‘सार्वजनिक पुस्तकालय पहुँच र बालबालिकाको पठन विकासमा जोड’ दिनु रहेको छ ।” यसैगरी पठन संस्कृति उत्कृष्ठ भएका अन्य देशमा क्रमश सिङ्गापुर, जापान, दक्षिण कोरिया, बेलायत, जर्मन आदि रहेका ढकालले बताउनुभयो ।
उहाँले थप्नुभयो, “सिङ्गापुरले ‘राष्ट्रिय पठन अभियान’ सुरु गरी १५ सय १५ मिनेट अध्ययन गर्नेलाई डिजिटल मनि दिने व्यवस्था गरेको छ भने जापानले ‘विद्यालयमा नियमित पठन पाठनको पहुँच’ । दक्षिण कोरियाले ‘विद्यालय पुस्तकालय अनिवार्य’, बेलायतले ‘परिवार र विद्यालयको सहकार्य’ र जर्मनीमा ‘पुस्तक मेला र साहित्यिक गतिविधि’ हुने गरेका कारण आज यी देशहरु विकासको चरणमा माथि रहेका छन् । ”
यसैगरी नेपालले पनि वडास्तरबाट सेवाग्रहीलाई एक छिन बस्दा पनि पुस्तक अध्ययन गर्ने बानीको विकास गरिदिँदा, वडामा सामुदायिक पठन केन्द्रको स्थापना हुँदा, महिनामा एकपटक पुस्तक चर्चा, स्थानीय तहमा पठन अभियान सुरुवात, पठनपाठन क्रियाकलापमा खुबै इच्छुक व्यक्तिलाई सम्मान गर्ने परिपाटि विकास गर्दा दैनिक पढ्ने संस्कार विकास हुने मत ढकालले व्यक्त गर्नुभयो ।

त्यसैगरी जेबी एजुकेशनका प्रमुख एवं शिक्षाकर्मी दिपकराज जोशीले मानिसको सोचमा परिवर्तन नभइ समाज परिवर्तन नहुने बताउँदै धेरै अध्ययन गर्ने बानीका कारण आज बी.पी. कोइराला, मदन भण्डारी, लक्ष्मी प्रसाद देवकोटा, सत्यमोहन जोशी आदि नेपाली व्यक्तित्व खुबै चर्चामा रहनुभएको बताउनुभयो ।

कार्यक्रममा उपस्थित व्यक्तित्व भवानी श्रेष्ठले आफूले लगभग १५ वर्ष अघि पढन छोडेको बताउँदै हाल पुनः आएर अध्ययनको महत्व बुझी फेरी पढन सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जब मैले पुनः अध्ययन गर्न थाले तब मेरो सोचमा पुरै परिवर्तन भएको छ ।”
अर्का वक्ता प्रजयश्री श्रेष्ठले आफूले अध्ययनलाई निरन्तरतानै दिइरहेको कारण आज कार्यालयको काममा निकै सहज भइरहेको धारणा व्यक्त गर्नुभयो ।

अर्की वक्ता अहिल्या मल्लले घरमा एउटा महिला साक्षर हुँदा सिङ्गो परिवारनै शिक्षित र काबिल बन्न पुग्ने दाबी गर्नुभयो ।
वडा नं ६ निवासी गंगा श्रेष्ठले आफूमा पढ्ने इच्चा ज्यादै भएको बताउँदै हिन्दी भाषा अध्ययन गर्न नजान्दा साथिलाई पढ्न लगाएर सुन्ने गरेको यर्थाथता प्रस्तुत गर्नुभयो ।
अर्कोतर्फ बी एण्ड डी पब्लिकेशनका विजय महर्जनले अध्ययन गर्न इच्छुक तर आर्थिक रुपमा कम्जोर व्यक्तिलाई आफू पुस्तक व्यवसायी भएका कारण सानो रकम लिएर पुस्तक प्रदान गर्ने गरेको जिकिर गर्नुभयो ।

कार्यक्रममा सहभागि सुदिन नेपालले आफूमा हरेक दिन राती सुत्नुअघि अध्ययन गर्ने बानी रहँदा सोचमा समेत सदैव सकारात्मक आउने गरेको दाबी गर्नुभयो ।
अर्का व्यक्तित्व सुनिल शाक्यले आफूमा अध्ययन गर्ने बानी नभएका कारण अबदेखि दैनिक अध्ययन गर्ने बानीको विकास गर्ने प्रतिवद्धता जनाउँदै वडाभित्र अध्ययन गर्नपाउने व्यवस्थाका लागि आफूहरुले बुक कर्नर बनाउने सोच अघि बढाएको जानकारी गराउनुभयो ।
यसैगरी नं ६ का वडाध्यक्ष रुपेन्द्र राज शाक्यले वडाभित्र पठन संस्कृतिको विकास गराउनका लागि बजेट विनियोजन गर्ने वचनवद्धता व्यक्त गर्दै वडाभित्रका पुराना ४ देखि ५ वटा पुस्तकालयको समेत संरक्षणमा थप जोड दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भौतिक मात्रै नभएर मानसिक विकास हुनुपनि देश विकास भएको मान्नुपर्छ । त्यसैले अब हामी वडा कार्यालय भित्र पनि पुस्तकालयको व्यवस्था गर्नेछौँ ।” स्थानीयलाई पठन संस्कृतिमा लाग्न आग्रह गर्ने वडाध्यक्ष शाक्यले प्रतिवद्धता जनाउँदै सो प्रकारको कार्यक्रम टोल टोलमा लान आग्रह गर्नुभयो ।











प्रतिक्रिया