काठमाडौँ।
नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको शुभारम्भ गरेका छन्।
ललितपुरको लगनखेलस्थित खेल मैदानमा आज आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले प्रतियोगिताको उद्घाटन गरेका हुन्। नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूको खेलकौशल विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले वि.सं. २०६५ सालदेखि प्रधान सेनापति ट्रफी सञ्चालन हुँदै आएको नेपाली सेनाले जनाएको छ।

यस वर्षको प्रतियोगितामा एथलेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठ विधामा प्रतिस्पर्धा हुनेछन्। प्रतियोगितामा नेपाली सेनाका विभिन्न पृतना तथा बाहिनीका १४ टोली सहभागी छन्।

प्रतियोगिताअन्तर्गत आज भएको पाँच किलोमिटर दौडमा महिलातर्फ मध्यपूर्वी पृतनाकी प्यूठ निर्मला केसी विजयी भएकी छन्। पुरुषतर्फ उत्तरपश्चिम पृतनाका सिपाही अर्जुन बुढा विजेता बनेका छन्।

विजेता खेलाडीलाई प्रधान सेनापति सिग्देलले पुरस्कार वितरण गरेका थिए।
उद्घाटन समारोहमा नेपाली सेनाका रथीवृन्द, अधिकृत, निर्णायक मण्डल तथा विभिन्न खेलका खेलाडीहरूको उपस्थिति रहेको थियो।











प्रतिक्रिया