नारायणीमा बगेर पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी


गैँडाकोट ।

नारायणी नदीको बाढीले बगाएर पुलमा अड्किएको होटल रिभर क्राउनको क्रुज जहाज निकाल्ने प्रयास भइरहेको छ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ बोटेटोलस्थित होटल रिभर क्राउनबाट आइतबार साँझ बगाएको क्रुज नारायणी नदीको पुलको पूर्वी नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको थियो।

सोमबार बिहान ८:२५ बजेदेखि जहाज निकाल्ने कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
जहाज निकाल्न चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बानियाँ र सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट संयुक्त टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलमा खटिएको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अहिले क्रुज जहाज निकाल्ने कार्य जारी रहेको छ।