-बागलुङ र पाल्पामा मानवीय क्षति
-नारायणीले सुस्तापूर्व र पश्चिममा क्षति
-एक मात्र चिनियाँ नाका कोरोला बन्द
-१६ राजमार्ग दुईतर्फी अवरुद्ध
-जलविद्युत््मा ब्यापक नोक्सानी
-गण्डकी र लुम्बिनीमा ठुलो क्षति
-काठमाडौँ आशिंक नाकाबन्दीमा
-दशैँ नजिकिँदा आएको बाढीपहिरोले जनजीवन अस्तव्यस्त
-विभिन्न जिल्लामा आंशिक नाकाबन्दी
काठमाडौँ।
अविरल वर्षाका कारण देशभर करिब एक दर्जनभन्दा बढीको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् । असोज ८ देखि ११ गतेसम्म आएको वर्षापछि बाढी पहिरोले बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
त्यस्तै पाल्पामा पहिरोमा परेर दुईको मृत्यु र तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारु रहेका छन् ।
बाढीबाट देशभर अर्बौँ रुपैयाँको क्षति भएको छ । वर्षाले लुम्बिनी र गण्डकी प्रदेशमा सबैैभन्दा धेरै क्षति पु¥याएको छ । नारायणी नदीमा आएको बाढीले दर्जनौँ घर बगाएको छ । नारायणी नदीमा आएको बाढीले सुस्तामा मात्रै सयबढी घरमा क्षति पु¥याएको छ ।
बाढीले गुल्मी, पर्वत, अर्घाखाँची, म्याग्दी, मनाङ, मुस्ताङ, पर्वत, बाग्लुङ , कास्की, गोरखा, नवलपरासीपूर्व र पश्चिम, डोटी, दार्चुला , कञ्चनपुर, चितवन, मकवानपुर, दाङ, सल्यान, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, ओखलढुंगा, हुम्ला, रोल्पा, रुपन्देही गरी २७ जिल्लाका अधिकांश सडक बन्द भएका नेपाल प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । पहिरोका कारण सबै प्रदेशको यातायातमा समस्या परेको छ ।
बाढी पहिरोको कारण सयौँ मानिस घरबारविहीन छन् । पुल बगाएको छ । पर्वतमा एउटा विद्यालय पहिरोले पुरिएको छ । बागलुङमा सल्लाहको रुख ढलेर २५० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
कोशी नदीको ब्यारेजको सबै ढोका खोलिएको थियो । सुदूरपश्चिममा परेको अविरल वर्षाको कारण सारदा ब्यारेजमा खतराको साइरन बजाइको थियो । महाकाली नदीको बाढीका कारण चाँदनी र दोधाराको बस्तीमा क्षति पु¥याएको छ ।
म्याग्दीमा सयौँ घर डुबानमा परेका छन् । पर्वतको जलजलामा बाढीपछि आएको पहिराको कारण ६६ घरमा क्षति पुगेको छ । कालीगण्डकीले म्याग्दीमा पक्की पुल बगाएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ–तातोपानीको नौलीबगर जोड्ने पक्की पुल आइतवार बिहान कालीगण्डकीले बगाएको हो ।
पुल बगेपछि अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको । यसैगरी अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा एक र वडा ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ । पुरिएका घरका दुई जनाको खोजी जारी छ । बाढीले १६ वटा राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ । बाढीपहिरोले बीपी राजमार्ग, ओखलढुंगा सिद्धिचरण लोकमार्ग,मनाङचामे–बेसीसहर, गुल्मी सिस्नेभिर रुद्रवेनी वामीटक्सार,बागलुङ राजमार्ग, रोल्पाको घोराही थवाङ रुकुम सहिदमार्ग, कालिकोटको कर्णाली राजमार्ग, काभ्रेको अरनिको राजमार्ग, गुल्मी राजमार्ग, सल्यानको राप्ती राजमार्ग दुईतर्फी बन्द भएका छन् ।
त्यस्तै म्याग्दीको बेनी–जोमसोम सडक खण्ड,मकवानपुरको हेटौँडा, भैँसे, भिमफेंदी फाखेल, काठमाडौँ सडक खण्ड, दाङ तुलसीपुर–घोराही सडक खण्ड,मुस्ताङ जोमसोम–कोरोला सडक खण्ड, डोटीको सबै भागमा बाटो र हुम्ला कर्णाली करिडोर दुईतर्फी बन्द छ । बाढीपहिरोको कारण काठमाडाँैको मुख्य नाका पृथ्वी राजमार्ग र कान्तिलोक पथ पूर्ण बन्द भएका कारण काठमाडौँ सडक नाकाबन्दीको मारमा परेको छ ।
कालीगण्डकीमा आएको बाढीले मुस्ताङ जाने पुल बगाएको छ । त्यसको कारण मुस्ताङ सडक सञ्जालबाट टाढा भएको छ । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत्् प्रसारण तथा वितरणका संरचनामा ब्यापक क्षति पुगेकोछ । भोटेकोशी बाढीको घाउ सुक्न नपाउँदै फेरि दर्जनबढी जलविद्युत्् परियोजनामा ब्यापक क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा केही स्थानमा विद्युत्् आपूर्ति अवरुद्ध भएको छ । नदीखोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत्् आयोजनाको उत्पादन पनि प्रभावित भएको छ ।
बाढीले १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपरमादी, २० मेगावाटको नामार्जुनमादी, ४० मेगावाटको सेतीनदी, २५ मेगावाटको अपरदोर्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ७० मेगावाटको मध्यमस्र्याङ्दी, ६९ मेगावाटको मस्र्याङ्दी, मोदीलगायत आयोजनाको विद्युत्् उत्पादन बन्द भएको छ ।
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । कालीगण्डकी करिडोरअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको प्रसारणलाइनमा समेत फल्ट आएको छ । यसकाकारण करिडोर प्रसारणलाइनमा जोडिएका करिब २०० मेगावाट विद्युत्् उत्पादन प्रभावित भएको छ ।
बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको विद्युत्् प्राधिकरणले जनाएको छ । क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत्् आपूर्ति अवरोध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका निम्ति प्राविधिक तथा मर्मत टोलीहरू विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
ऊर्जा तथा जलश्रोत मन्त्रालयले पनि सोही तथ्याङ्क सार्वजनिक गरेको छ । विद्युत्् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा अरू उपलब्ध प्रसारण वितरण संरचनामार्फत सुचारु गर्ने व्यवस्था मिलाइएको जनाएको छ । क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर विद्युत्् आपूर्ति क्रमशः पुनःस्थापना गर्ने कार्य भइरहेको छ ।
मन्त्रालयका अनुसार पोखरा, बुटवल, हेटौँडा र काठमाडौँ क्षेत्रमा विद्युत्् प्रणालीमा ठूलो अवरोध सिर्जना भएकाले करिब १ हजार ३०३ मेगावाट बराबरको प्रणाली प्रभावित भएको छ ।
सबैभन्दा बढी प्रभाव पोखरा क्षेत्रमा परेको छ । कुस्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा फल्ट आएपछि करिब २०० मेगावाट विद्युत्् प्रभावित भएको छ । त्यस्तै रौघाट–दाना लाइन १ र २ मा आएको अवरोधबाट करिब १५५ मेगावाट प्रभावित भएको छ ।
बाढीले कालीगण्डकी, अपरमादी, सुपरमादी, सिक्लेस–नामर्जुङ, सेतीनदी–करुवासेट, अपरदोर्दी र मोदीलगायतका जलविद्युत्् आयोजनाको उत्पादन तथा आपूर्ति पनि प्रभावित भएको छ । पोखराक्षेत्रका विभिन्न आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी क्षमतामा असर परेको छ । रौघाट क्षेत्रमा पनि न्यू बुटवल–कुस्मा २२० केभी लाइनमा आएको फल्टका कारण करिब ११० मेगावाट प्रभावित भएको छ ।
हेटौँडा क्षेत्रमा पनि बाढीले विद्युत्् प्रणालीमा असर गरेको छ । बाढीको कारण इन्द्रसरोवरमा पानीको सतह बढेको थियो । पानी पाठान्तरण गर्ने तयारी गरिरहँदा पानीको बहाब घटेको थियो । माण्डु ६६ केभीमा बाढीका कारण करिब ३२ मेगावाट प्रभावित भएको छ । कावासोती–भरतपुर १३२ केभी लाइनअन्तर्गत भरतपुर सबस्टेसनमा सीभीटी जलेपछि आपूर्तिमा समस्या आएको थियो । सिमरा सबस्टेसनमा करिब २० मेगावाट, अमलेखगञ्ज, परवानीपुर तथा वीरगञ्जका उद्योगमा करिब ८० मेगावाट र काम्ने सबस्टेसन तथा उद्योगमा करिब २५ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ ।
सकियो वर्षा
काठमाडौँ।
नेपालमा आज सोमवारबाट वर्षा कम हुँदै जाने भएको छ । जल तथा मौसम विज्ञान विभागले आजबाट कहीँकतै छिटफुटबाहेक भारी वर्षा नहुने अनुमान गरेको छ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका प्राडा दीपक अर्यालले नेपालमा बिहीवारदेखि जारी वर्षा हुने क्रम सोमवारबाट सकिने बताउनुभयो । उहाँका अनुसार अब हल्का वर्षा भइहाले पनि एकै घण्टामा रोकिने खालको हुन्छ ।
मौसमविद्हरूका अनुसार शनिवार राती र आइवार बिहानसम्म वर्षा निम्त्याएको मौसमी प्रणाली कमजोर हुँदै गएको छ।











प्रतिक्रिया