काठमाडौँ।
मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालको आधार शिविरमा आइतवार बिहान गएको हिमपहिरोमा परी सम्पर्कविहीन हुनेको संख्या १४ पुगेको छ । प्रारम्भिक विवरणमा १० जना बेपत्ता भएको भनिए पनि पछिल्लो विवरणमा १४ जना नेपाली पर्वतीय कामदार तथा सहयोगी सम्पर्कविहीन भएको जनाइएको छ ।
लगातारको वर्षा र भारी हिमपातपछि गएको हिमपहिरोले आधार शिविरमा रहेका पालहरू पुरेको थियो । सम्पर्कविहीन हुनेमा हिमालयन होलिडेज नेपालका आठ जना र इमाजिन नेपालका दुई जनासहित विभिन्न टोलीमा आबद्ध नेपाली पर्वतीय कामदार तथा सहयोगी रहेको बताइएको छ । विदेशी आरोहीहरू भने आधार शिविरमा पुगिसकेका थिएनन् ।
हिमालयन होलिडेज नेपालका अभियान आयोजक विभूति चन्द ठाकुरका अनुसार सुरुमा आठ जना सम्पर्कविहीन भएको जानकारी आएको थियो । पछि संख्या बढेर १४ पुगेको उहाँले बताउनुभयो । हिमलुङ हिमालमा विदेशी आरोहीका लागि आधार शिविर तयार पार्ने, बाटो व्यवस्थापन गर्ने र डोरी टाँग्ने काममा नेपाली टोली खटिएको थियो ।
हिमालयन होलिडेज नेपालका एक्सपेडिसन लिडर काजी शेर्पाले आधार शिविरमा हिमपहिरो गएको जानकारी गराउनुभएको थियो । कम्पनीका अनुसार ‘सबै जना पुरिएका छन्, छिटो उद्धार टोली पठाइदिनु’ भन्ने सन्देश पठाएका थिए । त्यसपछि आधार शिविरसँग सम्पर्क हुन नसकेको जनाइएको छ ।
हिमपहिरोपछि उद्धारका लागि निजी हेलिकोप्टर तथा अनुभवी पर्वतारोहण गाइडलाई तयारी अवस्थामा राखिएको छ । तर प्रतिकूल मौसमका कारण हेलिकोप्टर परिचालनमा कठिनाइ भइरहेको छ । उद्धारमा संलग्न टोलीले घटनास्थलसम्म पुग्न नसक्दा बेपत्ताको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अध्यक्ष तुलसिंह गुरुङका अनुसार मिङ्मा गेल्जे शेर्पासहित चार जनाको टोली हेलिकोप्टरमार्फत हिमलुङतर्फ गएको छ । अन्य गाइड पनि उद्धारका लागि तयारी अवस्थामा राखिएका छन् । उद्धार टोलीले घटनास्थलमा पुगेर बेपत्ताको खोजी र अवस्थाबारे थप जानकारी संकलन गर्नेछ ।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेका अनुसार विभागले घटनालाई नजिकबाट निगरानी गरिरहेको छ । बेपत्ताको अवस्थाबारे थप विवरण संकलन गर्ने र सम्बन्धित निकायसँग समन्वय गरेर उद्धारको प्रयास भइरहेको उहाँले बताउनुभयो । मौसम अनुकूल भए हेलिकोप्टरमार्फत उद्धार कार्यलाई तीव्र बनाउने तयारी छ ।
हिमलुङ हिमाल क्षेत्रमा पछिल्ला दिनमा लगातार वर्षा र हिमपात भइरहेको थियो । मौसम प्रतिकूल भएपछि अन्य आरोहण टोलीका धेरै सदस्य सुरक्षित स्थानतर्फ झरिसकेका थिए । तर आधार शिविरमा अभियानको तयारीमा खटिएका केही नेपाली कामदार तथा सहयोगी भने हिमपहिरोमा परेको बताइएको छ ।











प्रतिक्रिया