काठमाडौं ।
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण तथा सडक खुलाउने कार्यलाई तीव्रता दिएको छ।
नेपाली सेनाका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा पहिरोमा फसेका ७८ जना स्थानीयलाई हेलिकप्टरमार्फत उद्धार गरी मुक्तिमार्ग माध्यमिक विद्यालयमा सुरक्षित स्थानमा सारिएको छ। यस्तै, पर्वत, म्याग्दी र बागलुङबाट ६०२ जनालाई जमिनमार्फत उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
पाल्पाको रामपुर नगरपालिका–४ वडाबानघाटमा कालीगण्डकी नदी बस्तीमा पसेपछि सेनाको टोली परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
त्यसैगरी, नेपाली सेनाको हेलिकप्टरमार्फत ९७९ किलो राहत सामग्री म्याग्दीको अन्नपूर्ण गाउँपालिका–मुक्तिमार्ग विद्यालय, बागलुङको तमानखोला गाउँपालिका–सोलेडाँडा र पर्वतको जलजला गाउँपालिकामा पुर्याइएको छ।

बाढी तथा पहिरोका कारण अवरुद्ध सडक खुलाउने कामसमेत सेनाले जारी राखेको छ। डडेल्धुराको आलिताल गाउँपालिका–८ भगरियामा पहिरोले जोगबुडा–बुडर सडकखण्ड अवरुद्ध भएपछि सेनाको टोली परिचालन गरी सडक पुनः सञ्चालनमा ल्याइएको छ।
रौतहटको मौलापुर नगरपालिका–१ मर्यादापुरमा लालबकैया नदीको बहाव बढेपछि नदीको करिब ८० मिटर बाँधलाई थप मजबुत बनाइएको सेनाले जनाएको छ।
यस्तै, जाजरकोटको भेरी नगरपालिका–१३ कुदुस्थित भेरी नदीको बीच टापुमा फसेका चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
नेपाली सेनाले वर्षाजन्य विपद्बाट प्रभावित अन्य क्षेत्रमा समेत खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।











प्रतिक्रिया