पाल्पामा पहिरोले घर पुरिँदा एकको मृत्यु, दुई किशोरी बेपत्ता


पाल्पा ।

अविरल वर्षासँगै आएको पहिरोले घर र गोठ पुरिँदा पाल्पामा एक जनाको मृत्यु भएको छ भने दुई किशोरी बेपत्ता भएका छन्।

आइतबार बिहान करिब ४ बजे माथागढी गाउँपालिका–३ भैसेकट्टामा पहिरो खस्दा घर र गोठ पुरिएको हो। पहिरोमा परी स्थानीय ७५ वर्षीय लिलबहादुर घर्ती मगरको मृत्यु भएको छ। उनको शव फेला परेको प्रहरीले जनाएको छ।

पहिरोमा परी घर्ती मगरका १७ वर्षीया छोरी दिना घर्ती मगर र १५ वर्षीया झरना घर्ती मगर बेपत्ता भएका छन्।

घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पाबाट खटिएको टोली र नेपाल प्रहरीले जेसीबीको सहयोगमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

पहिरोका कारण सोही स्थानका अन्य केही घरसमेत जोखिममा रहेको जनाइएको छ। लगातार वर्षा भइरहेकाले थप पहिरोको जोखिमलाई ध्यानमा राखी स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।