११ घन्टापछि पूर्वप्रधानन्यायाधीश जबरा परिवारको जिम्मा, मध्यराति नियन्त्रणमा लिनुको कारणबारे प्रश्न


काठमाडौं ।

प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा करिब ११ घन्टापछि रिहा भएका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरी उच्च स्रोतले जनाएको छ।

जबरा शनिबार मध्यराति काठमाडौंको बाँसबारीस्थित निवासबाटै प्रहरी नियन्त्रणमा परेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो।

प्रहरी स्रोतका अनुसार अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले मध्यराति नै जबरासँग सोधपुछ गरेका थिए। सोधपुछका क्रममा न्याय क्षेत्रसँग सम्बन्धित विषय, अदालतमा विचाराधीन मुद्दाका पक्ष तथा केही राजनीतिक र व्यावसायिक व्यक्तिसँग भएका भेटघाटबारे चासो राखिएको बताइएको छ।

सरकारले भने जबरालाई ‘जेनजी’ समूहबाट हुनसक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखेर सुरक्षाका लागि सुरक्षित स्थानमा राखिएको दाबी गरेको छ। तर स्रोतहरूले पछिल्लो समय जबरासँग विभिन्न शक्ति समूहका व्यक्तिहरूको भेटघाट बढेको सूचनाका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिइएको दाबी गरेका छन्।

जबरालाई नियन्त्रणमा लिइएको घटनालाई लिएर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायतका राजनीतिक दल, कानुन व्यवसायी, पूर्वन्यायाधीश तथा नागरिक समाजका विभिन्न व्यक्तिहरूले आपत्ति जनाएका छन्।

यद्यपि, जबरालाई कुन कानुनी आधारमा नियन्त्रणमा लिइएको थियो र सोधपुछपछि रिहा गरिएको हो भन्ने विषयमा प्रहरीले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।