यो वर्षको दशैँ घमाइलो हुने

भोलिबाट मौसम सुधार हुने मौसमविद्हरूको भनाइ

0
Shares

काठमाडौँ ।

यतिखेर वर्षात् अझै जारी नै रहेको भए तापनि अबको एक दुई दिनमा देशभर छिटफुटबाहेक ठुलो वर्षा नहुने मौसमविद्ले जनाएका छन्। यसले गर्दा यो वर्षको दशैँ हिले होइन, घमाइलो हुने भएको छ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका मौसमबिद् प्राडा दीपक अर्यालले भोलि सोमवारबाट वर्षा कमजोर हुँदै जाने जिकिर गर्दै भन्नुभयो– ‘अब वर्षा निरन्तर हुँदैन, छिटफुट होला। यो वर्षको दशैैँ घमाइलो दशैँ हुनेछ।’ उहाँका अनुसार हालको निरन्तर वर्षा पनि अकस्मात भएको हो । वर्षा वास्तवमा सकिएको थियो तर बंगालको खाडीबाट आएको चक्रवातको कारण नेपालमा भारी वर्षा भएको हो । यो नै यसपालिको अन्तिम वर्षा हो ।

अब सामान्य वाष्पीकरण भएर छिटफुट वर्षा मात्र हुनेछ । कहीँ कतै मेघ गर्जनसहित हल्का वर्षा भए पनि अँध्यारो वा हिले दशैँ नहुने मौसमविद् अर्यालको भनाइ थियो । उहाँले भन्नुभयो– ‘घटस्थापना सुरु हुन १५ दिन बाँकी छ । हामी मौसमी प्रणालीको निरन्तर अध्ययन गरिरहेका हुन्छौँ । अब ठुलो वर्षा हुने देखिँदैन । बाढी पहिरोको जोखिम छैन।’

जल तथा मौसम विभागले दिएको जानकारीअनुसार अब काठमाडौँमा आज मध्यान्हसम्म वर्षा हुनेछ । त्यसपछि क्रमशः सुधार हुँदै मौसम सफा हुने छ ।

यसैबीच ८ असोजदेखि आएको अविरल वर्षाको कारण शनिवार ५८ वटा नदीमा ठुलो बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी र यिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि र बागमती, पश्चिम राप्ती र बबई नदीका बाढी सतर्कता तहनजिक पुगेको छ ।

नारायणी, कोशी, गण्डकीलगायत नदीले जलसतह पार गरेको थिए । नारायणी नदीको पानी सुस्तामा पस्दा २९ वटा घर डुवानमा परेका थिए । कोशी ब्यारेजको ४२ ढोका खुला गरिएको थियो । सबै नदी तटबासिन्दालाई सुरक्षित स्थानमा लगिएको थियो ।

बाढी महाशाखाले देशका प्रमुख नदीहरूको आगामी दुई दिनको पूर्वानुमानअनुसार पहेँलो र सुन्तला रङमा परेका नदीकिनारामा बस्नेहरूलाई उच्च सतर्क रहन सुझाव दिएको थियो । हिजो शनिवार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, दाङ, अर्घाखाँची, रुकुमपूर्व, रुकुमपश्चिम, प्युठान, रोल्पा, सल्यान, जुम्ला, कालीकोट, दैलेख, बाजुरा, अछाम, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको जनाएको छ । यी जिल्लामा बाढी महाशाखाले पहेँलो रङ (एल्लो अलर्ट) दिएको छ ।

गोरखा,लमजुङ, कास्की,मनाङ,मुस्ताङ,नवलपरासी पूर्व, नवलपरासी पश्चिम, डोल्पा, जाजरकोट, रुपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला, डडेल्धुरा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ । यी जिल्लालाई बाढी महाशाखाले सुन्तला रङ (अरेन्ज अलर्ट) दिएको थियो ।

शनिवार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबई बेसिनका सबैजसो मापन केन्द्रहरूमा जल सतह उल्लेख्य रूपमा बढेको थियो । यो आज र भोलिसम्म जारी रहने सम्भावना रहेको छ ।

आज आइतवार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स–साना नदीहरूमा आकस्मिक बाढी आउने उच्च जोखिम रहेको जनाएको छ । महाशाखाले गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पूर्वी तथा पश्चिम नवलपरासी, डोल्पा, जाजरकोट, रुपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेल्धुरा तथा यस आसपासका जिल्ला भई बहने नदीहरूमा जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।

यी क्षेत्रमा उच्च जोखिम रहेका कारण विशेष सावधानी अपनाउन सुझाइएको छ । भोलि १२ गते भने कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरूमा मात्र बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाको प्रक्षेपण छ ।
निरन्तर बाढी र त्यसपछि आएको पहिरोको कारण देशका दर्जनबढी सडक यातायात ठप्प भएका छन् । राजधानी प्रवेश गर्ने त्रिभुवन र कुलेखानी र फाखेलबाहेक सबै नाका ठप्प छन् ।

देशको यातायातको लाइफलाइन पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङलगायतका स्थानमा पहिरो खस्दा यातायात पूर्णरूपमा बन्द भएको छ । निरन्तरको वर्षाका कारण स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको छ । विभागले सो सडकको पहिरो पन्छाएर यातायात पुनः सुरु गर्ने प्रयास जारी राखेको छ ।

बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायतका स्थानमा सडक अवरुद्ध भएको छ । त्यहाँ पहिरो जानुका साथै डाइभर्सनसमेत बगाएकाले राजमार्ग पुनः सञ्चालनमा ल्याउन निरन्तर प्रयास भइरहेको छ ।

कर्णाली राजमार्गका गगने खोला, नाग्म–जुम्लाको राँकाक्षेत्रलगायत विभिन्न स्थानमा साना–ठूला पहिरो र ढुंगा खसेका कारण सडक पूर्णरूपमा अवरुद्ध छ । सडक खुलाउनका लागि सबैतर्फबाट लोडरसहितका टोली परिचालन गरिएको छ। यस्तै, सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुंगा–सल्लेरी खण्डको सोलु खोलानजिक सडक भासिएकाले सवारी आवागमन ठप्प छ ।

कान्ति राजमार्ग भने आंशिक रूपमा सञ्चालनमा आएको छ । मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सञ्चालन गरिए पनि ललितपुरको चपली र तकुर्चेलगायतका स्थानमा पहिरो पन्छाउने काम जारी रहेको जनाइएको छ ।

मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगरखण्ड, कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा ठूलो पहिरो गएको छ । तमोर करिडोरको रानीगाउँ क्षेत्रमा खोलाको बहाव बढेकाले सडक अवरुद्ध छ र बहाव घट्नासाथ खुलाउने तयारी छ ।